Sahara Sansar

Thursday, June 16, 2011

कुवेतमा नेपाली महिलाहरूको अवस्था दयनीय

सुजन केसी,कुवेत ।

 नेपाली कामदारहरूको आकर्षक गन्तव्य बनेको कुवेतमा झन्डै ५५ हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० प्रतिशत घरेलु महिला कामदारहरू रहेका छन् । सुन्दर सपना र उज्ज्वल भविष्यको सपना बोकी कुवेत छिरेका नेपाली महिलाहरूको अवस्था अत्यन्तै दयनीय छ । करिब २ सय नेपाली महिलाहरू दूतावासको शरणमा छन् भने २ दर्जन जेलमा छन् । त्यस्तै ९ महिलाको शव कुवेतको अस्पतालमा छ ।

जीवन र मृत्युसँग संघर्ष गर्दै ५ बर्षदेखि अस्पतालमा रहेकी शान्ती माया दोङदेखि डेड दर्जन कुमारी आमा र उनीहरूका बाबुको पाहिचान खुल्न नसकेका शिशुहरू नेपाल फर्कन नसकेको अवस्थामा छन् । दूतावासका अनुसार ९ नेपाली महिलाका शव कुवेतको अस्पतालमा थन्किएका छन् । तर, अहिलेसम्म न मृत्युको कारण थाहा भएको छ न त उनीहरूका आफन्तको नै पत्तो लागेको छ । उनीहरूका राहदानी पनि छैन र अहिलेसम्म खोजिमा दूतावासको सम्पर्कमा कोही आएको पनि छैन । अर्काको पासपोर्ट प्रयोग गरी भारतको बाटोबाट आएकाले पासपोर्ट फोटो, मान्छे र ठेगाना फरक हुँदा झन समस्या थपिएको छ । साहुको घरबाट भागी गैरकानूनी बनेपछि मृत्यु भएकाहरूलाई शव पठाउन लाग्ने खर्च साहुले तिर्न नमान्दा शवलाई स्वदेश पठाउन नसकिएको दूतावासको भनाई छ । 

अस्पतालमा थन्किएका १५ शवमध्ये ६ माहिलाको शव नेपाल पुगिसकेका छन् । दूतावासका अनुसार शान्ति सार्की, शान्ति दर्जी, अमृता सेन्च्यु, सानुमाया कस्नी कामी, सविना नेपाल, सरस्वती अवास, निलिमा योङगहाङ लिम्बू र कविता विश्वकर्माको शव कुवेतको सरकारी अस्पताल ‘फरेन्सिक मेडिसिन’मा राखिएको छ । आवाश्यक कागजात र आर्थिक अभावका कारण अस्पातलमै फ्रिज भएका नेपाली महिलाहरूका शव नेपालसम्म पुगे पनि सम्बन्धित परिवारसम्म पुग्ने सम्भावना कमै देखिन्छ । दूतावासले शव नेपाल पठाउन आवश्यक खर्च उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्रचार गरिसके पनि प्रक्रिया अगाडि बढ्ने नबढ्नेमा अझै अन्यौल छ ।कुवेत सरकारले हालै खोलेको आममाफीको सदुपयोग गर्दै करीब तीन हजार गैरकानुनी नेपाली कामदारहरू स्वदेश फर्किए पनि अझै २ सय महिला दूतवासको शरणमा छन् । दूतावासको सेल्टरमा रहेका महिलाहरूको विभिन्न किसिमका मुद्दाहरू भएकोले उनीहरू सबै आममाफीको सदुपयोग गरी स्वदेश फर्कन बञ्चित भएका हुन् । दूतावासको सेल्टर मात्रै होईन कुवेतको जेल पनि नेपाली महिलाहरूले भरिएका छन् ।डोल्मा शेर्पा लगायत दुई दर्जन नेपाली चेलीहरू जेलको अँध्यारो कुनामा छन् ।

 करिब पाँच बर्षदेखि कुवेतको फर्मानिया अस्पतालमा अत्यन्तै चिन्ताजनक रूपमा जीवन र मृत्युसँग संघर्ष गरी राखेकी शान्तीमाया दोङलाई नेपाल फर्काउने कुरा कुरैमा सीमित रहेको छ । कुवेतदेखि नेपालको लागि सिधा हवाई सुविधा नभएको कारण र ठुलो रकमको आवश्यकता परेकोले उद्धार हुन सकेको छैन । डेढ दर्जन कुमारी आमा र उनीहरूका शिशुहरू कुवेतमा कानुनी प्रक्रिया मिचेको गम्भीर आरोपमा यता न उता भएका छन् । कतिपयले कुवेतबाट पैसा होईन कुमारीमै छोरा कमाएर फर्के, कतिले बच्चा कुवेतमै छोडेर भागेका छन् भने कति महिलाहरू आफू बलात्कारमा परी बच्चा जन्मेको भन्दै काखी च्यापेर हिँड्न वाध्य छन् । हालै खुलेको आममाफीमा दूतावासले १२ जना बच्चा र तिनीहरूका आमालाई नेपाल फर्कनको लागि ट्राभल डकुमेन्ट दिएको छ तर उनीहरूलाई नेपाल फर्कन सहज छैन ।



कुवेतमा घरेलु महिला कामदारहरू अलपत्र र बिचल्ली हुनुको प्रमुख कारण स्थानीय श्रम कानुनले नसमेट्ने, उनीहरू असुरक्षित हुने, एजेन्टहरूले भिजिट भिसामा स्वदेशी र विदेशी विमानस्थल प्रयोग गरी सेटिङमा (नक्कली कागजातको भरमा)पठाउनु हो । यसरी कुवेत पुग्ने कामदारहरूको सरकार र दूतावाससँग कुनै रेकर्ड हुँदैन । सेटिङ रोक्न र महिलाहरूको संरक्षण गर्न दूतावासले प्रमाणित गरेर पठाएको मागपत्रलाई हेरेपछि मात्रै श्रम स्वीकृति दिने र दूतावासले तय गरेको न्युनतम मापदण्ड पुरा गर्नुपर्ने योजना लागु गरेको छ । त्यस्तै, महिला कामदारहरूको लागि बीमा योजना सुरु गरेको छ । तर, हाल कुवेतमा अलपत्र सास र लाश बीमा कम्पनीसँग सम्झौता गर्नुभन्दा पहिलाका भएकोले बीमाले पनि समेट्दैन । अब लाश भएका र सास भएका बिचल्लीमा परेका पीडित नेपाली महिलाहरूलाई नेपाल कसले र कसरी पु¥याउने ?

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae