राजेन्द्र न्यौपाने
गोरखा जिल्ला सदरमुकामबाट २० कोष उत्तरमा रहेको ऐतिहासीक गाउँ बारपाकमा जति मात्रामा लाहुरेहरुको बस्ती छ , त्यति नै त्यस क्षेत्रमा कृषि व्यवसाय गर्ने किसानहरु छन् । बारपाकका प्रत्येक घरहरुमा पशुपालन गरिन्छ । अर्गानिक मलको प्रयोग गरेर खेती गर्ने बारपाकी गाउँलेहरु आफ्नो खेतबारीमा पशुको मल
मात्र प्रयोग गर्दछन् ।
हिउँदको समयअवधिभरी बारपाकगाउँमा रहेका भेडीगोठहरु अहिले लेकतिर सारिएको छ । गाउँको मकैबारी र कोदोबारीमा हिउँदसमयमा राखिएको भेडा, चौरीहरु जेठ देखि असोज सम्म लेकमा राख्ने गरिन्छ ।
लेकमा फराकिलो चरनक्षेत्र भएकोले त्यहा कसैको पनि बालि विग्रने डर हुँदैन तल्लो क्षेत्रमा पशु चराउँदा बालिनाली खाईदिएर समस्या पार्दछन् भन्नुहुन्छ स्थानीय मानसिं गुरुङ । यतिबेला मम्चे डाँडा, पिम्चेडाँडा, दिलिङ, खड्का, रुवीनाला, रुप्चे,पोइचे, ठाडो खड्का आदि चरण क्षेत्रहरुमा चौंरी भेंडाले जंगल भरिएको छ।
हिमाली क्षेत्र भएपनि नमस्ते मोवाइलको टावरले काम गर्ने भएकाले गोठालो जानेहरुलाई आवश्यक पर्ने नुन, तेल लगायतका खाद्यन्न सामग्री सकिएपछि जानकारी लिनदिन सजिलो भएको छ । पहिले खर्च सकिएपछि एक जना मानिस हिँडेर तल आउनु परेको गोठाला धन बहादुर गुरुङ बताउनुहुन्छ ।
गोठालाहरुले दिनभरी बाँसको चोयाबाट डोको, थुम्से, घुम बून्ने चलन छ भने त्यो लिनको लागि गाउँका दिदीवहिनीहरु रक्सी र सुकुटी लिएर जानेगर्दछन् । दुईचारदिन त्यस लेक क्षेत्रमा रोदी समेत चल्ने गर्दछ ।
भेंडाहरुलाई तिन महिना माथि लैजाने र दूई महिना तल झार्ने गरी चरनमा डुलाईन्छ । तल्लो क्षेत्रमा खेती नभएको समयमा भने तल नै राखिन्छ ।
त्यस क्षेत्रको चरनको सुधार गर्न सके पशुपालन व्यावसायबाट नै उत्तरी गोरखाका मानिसहरुको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ । जिल्ला पशु सेवा कार्यालय गोरखामा तलब भत्ता बाहेक पशुपालनको क्षेत्रमा आठ लाख मात्र बजेट आउने गरेको पशु विकास अधिकृत जीवलाल लम्साल बताउनुहुन्छ ।
सरकारी कार्यालयको सो बजेट बारपाक सम्म कहिल्यै पुग्ने गरेको छैन । उत्तरी गोरखाको चरन क्षेत्रको विकास गरी पशु पालन गर्न सकिन्छ भन्ने योजना अझैसम्म ती कार्यालयहरुमा छैनन ।
0 comments:
Post a Comment