Sahara Sansar

Tuesday, June 7, 2011

सुरक्षा सहित माओवादी लडाकूको बिदाई, अध्यक्ष दाहाललाई अब ७० जना प्रहरीले सुरक्षा दिने

जेठ २४ काठमाडौं। एकीकृत माओवादी नेताको सुरक्षामा खटिएका थप ६६ जना माओवादी लडाकू हतियारसहित अस्थायी शिविरमा फिर्ता भएका छन् । अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ बजारमा आज बिहान विशेष कार्यक्रमका बीच ६६ जना लडाकूलाई सामूहिक बिदाई गरिएको हो । बिदाई समारोहपछि संचारकर्मीसंग कुरा गर्दै माओवादी लडाकुका सेनाका बिग्रेड कमाण्डर युवराज दुलालले पार्टी र पार्टी नेतृत्वको निर्णय अनुसार आफूहरु शिविरमा फर्किन लागेको जानकारी दिनुभयो ।

लडाकूहरुलाई नेपाल प्रहरीको विशेष कार्यदलले स्कर्टिङ गरी चितवनको शक्तिखोर लगेको छ । प्रमुख तीन दलबीच जेठ १४ गते राति भएको मौखिक सहमतिका आधारमा माओवादीले दोहोरो सुरक्षा अन्त्य गरेको हो । माओवादी शीर्ष नेतादेखि पोलिटब्युरो सदस्यसम्मको सुरक्षामा १ सय ६ लडाकू अनमिनबाट प्रमाणीकरण गरिएका साना ठूला गरी ९६ थान हतियारसहित तैनाथ थिए ।

लडाकू फिर्ता भएपछि माओवादी शीर्ष नेताहरूको सुरक्षाको जिम्मा हिजोबाट सशस्त्र र नेपाल प्रहरीले लिएका छन् । अध्यक्ष दाहालको सुरक्षामा ४५ जना सशस्त्र र २५ जना नेपाल प्रहरी खटिएका छन् । यसअघि ५० लडाकु, २३ सशस्त्र र १० नेपाल पुलिसले अध्यक्ष दाहाललाई सुरक्षा दिँदै आएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae