Sahara Sansar

Monday, June 20, 2011

मलेसिया र दिल्लीमा दर्जनौ युवा अलपत्र



असार ६

ब्राइटर मुन ह्युमन रिसोर्स सर्भिसेज प्रा.लि.सतुङ्गलको स्याङ्जास्थित वालिङ शाखाबाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।
युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही एक लाख ५० हजार रुपैयाँका दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।


अलपत्र परेकामा स्याङ्जा थुमपोखरा–९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ, पुतलीबजार–१३ का दीर्घसिङ केसी, दहथुम बयरघारीका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापा लगायत छन् । अन्यको भने अझै नाम खुल्न सकेको छैन । अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता, वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द छ ।कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्त चिन्तित भएका छन् ।

 बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरूमध्ये कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् । पीडित परिवारले प्रतिव्यक्ति एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् ।उता, करिब चार महिना अगाडि सप्तरीबाट मलेसिया पुगेका आठ नेपाली युवाहरू त्यहाँ काम गर्न नपाएर अलपत्र परेका छन् । राजविराजका एजेन्ट मो. इमामुद्दनिले आठै जना युवाहरूसँग जनही ९५ हजार रुपैयाँ लिई काम लगाईदिने भन्दै गत चैत्र १५ गते मलेसिया पठाएका थिए ।

 सप्तरीको बैरवा–४ का अजाद मन्सुरी, जमिर मन्सुरी, नुरतुज मन्सुरी, मोहरम शेख, नजमुद्दनि सेख, सरफराज मन्सुरी, नसिर मन्सुरी र रजाक मन्सुरीलाई एजेन्ट इमामुद्दनिले मलेसिया पठाएर अलपत्र बनाएका हुन् ।आठै जना युवाहरू त्यहाँ गएदेखि कुनै किसिमका काम गर्न पाएका छैनन् । ९५ हजार रुपैया लिएर मलेसियामा होम गार्डको काम गरे वापत ८ सय ५० रियाल पाउने भन्दै आठै जनालाई एजेन्ट इमामुद्दनिले मलेसिया पठाएका हुन् । तर, त्यहाँ पुगेका चार महिना हुन लाग्दा पनि आठै जना युवाले कुनै किसिमको काम गर्न नपाएर खान बस्न समेत अप्ठ्यारो भईरहेको छ । अलपत्रमध्ये नसिर मन्सुरीले भने, ‘रोजगारीका लागि हामीहरू मलेसिया आएपनि यहाँ काम नपाएर अलपत्र परेका छौं, काम गर्न नपाएपछि बस्न खान समेत समस्या भइरहेको छ ।’ आफुहरू मलेसियामा अलपत्र परेकोबारे एजेन्टलाई बारम्बार भन्दै आए पनि कुनै सुनवाई नगरेको उनको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae