Sahara Sansar

Saturday, June 18, 2011

भृकुटीको पालामा निर्मित चोखाङ मन्दिरको जिर्णोद्धार


ध्रुव पौडेल,बेइजिङ

नेपालसँगको मित्रताको प्रतीकको रुपमा रहेको चीनको तिब्बतको ल्हासास्थित ऐतिहासिक चोखाङ मन्दिरमा १३ सयवर्षयताको सबैभन्दा ठूलो जिर्णोद्धार गरिएको छ । नेपालकी राजकुमारी भृकुटीसँगको विवाहपछि राजा सोङ सान काम्फोद्वारा सम्भवतः सन् ६४२ मा निर्माण गरिएको भनिएको चोखाङको  जिर्णोद्धारकार्य परिमाण र लगानीका हिसावले अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

 चीनको प्रमुख टेलिभिजन सीसीटीभीका अनुसार केन्द्रीय सरकारद्वारा विनियोजित १ करोड ८० लाख चिनियाँ युआन करिब २० करोड नेपाली रुपियाँको विशेष खर्चमा मन्दिरलाई सम्भावित आगलागीबाट जोगाउन काठ कुहिनबाट बचाउन र मुख्य हलमा वर्षातको पानी चुहिनबाट रोक्नका लागि अग्निनियन्त्रण ढल तथा शौचालयको सुधार गरिएको छ । तिब्बत सांस्कृतिक सम्पदा कार्यालयका उपनिर्देशक लिउ श्री चोङ्गलाई उद्धृत गर्दै सीसीटीभीले जनाएअनुसार दुई वर्ष लगाएर मन्दिरको भित्ता भुँई र ढलको मर्मतकार्य सम्पन्न गरिएको छ । नयाँ ढल प्रणाली र भुँईको बाहिरी तहमा बिच्छ्याइएको ढुङ्गाका कारण वर्षातको पानी भवनहरुको बीचबाट बग्नबाट रोकिने भएको छ ।

 स्थानीय भाषामा बुद्धको घर भन्ने अर्थ रहेको चोखोङ मन्दिर ल्हासाको पुरानो भाखोर चोकमा रहेको छ । तिब्बतका लागि नेपालका महावाणिज्यदूत ङइन्द्रप्रसाद उपाध्यायका अनुसार नेपालको लगानीमा साचालित ल्हासाका अधिकांश नेपाली रेष्टुराँ र हस्तकलाका सामानहरुको पसल पनि भाखोर क्षेत्रमा नै रहेका छन् । नेपालकी राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी वन छङ्ग सँगको विवाहपछि उनीहरुले ल्याएका बुद्धका महत्वपूर्ण मूर्तिहरु राजा काम्फोले उक्त मन्दिरमा राख्न लगाएका थिए । मन्दिरमा नेपालका भृकुटी र बुद्धका मूर्तिहरु राखिएको महावाणिज्यदूत उपाध्यायले बताउनुभयो ।

 मन्दिरमा नेपाली शैलीमा बनाइएको काठको मूल ढोकाको मोहडा नेपालतर्फ फर्किएको छ । मन्दिर निर्माणका लागि भृकुटीले नेपालबाट कालिगढसमेत बोलाएकी थिइन् । चार तले मन्दिरमा घोप्टे भर्याङलगायतका बास्तुकलामा पनि नेपाली शैलीको मिश्रण पाइने भएकोले यसलाई नेपालचीन मित्रताको प्रतीक मानिन्छ । तिब्बतको पोताला दरवारसँगै चोखाङ पनि विश्व सांस्कृतिक सम्पदा सूचिमा सुचिकृत छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae