Sahara Sansar

Thursday, June 9, 2011

नेपाली ठग्ने दलाल युरोपमा पनि उस्तै : पीडितलाई जेल , दलाललाई मस्ती


- सन्तोष न्यौपाने


समाचार आएकै कारण चार बर्ष पछी फिर्ता भयो रकम

 नेपाली ठग्ने दलाल युरोपमा पनि उस्तै : पीडितलाई जेल , दलाललाई मस्त शिर्षक मा  प्रकाशित गरेको समाचार को  ठिक  ४५ दिन पछी पिडित बिना के सी ले आफ्नो रकम फिर्ता पाएकी छिन .उनको यो रकम ठिक चार बर्ष पछी फिर्ता भएको हो .समाचार लेख्ने ¨पत्रकारलाई यो भन्दा खुसि अरु के हुन् सक्छ ? उनको इमेल हेर्नुहोस जस्ताको तस्तै र सम्बन्धित समाचारदर्सन संतोष जी के छ हजुर को खबर ?हिजो आज कता हराउनु भयो तपाई ,संतोष जी दिनेश ले पैसा पठायो  है आज गएर निकालेर ल्याए मैले मनिट्रान्सफर बाट | यूरो पठाउकी डलर भनेर सोधेको थियो मलाई मैले डलर पठाउनु भने अनि उसले १२०० यूरो को डलर बनाएर १६५० (सोह्र सय पचास ) डलर पठाएको रहेछ | ब्यज त दिदैन होला सावा मात्र पठाएछ| हजुर लाई मुरी मुरी धन्यबाद |जे होस् हजुर को प्रयास,   विश्वास ,दुख गरेको काम सफल भयो,तपाई त मेरो लागि भगवान जतिकै हुनुभयो  ,सधा सधा भगवान ले हजुर को साथ दिरहुन, सधै सफलताले चुमिरहोस हजुर लाई |अनि अब मैले यस सफलता को बापत हजुर लाई के सहयोग गर्न सक्छु कृपया भन्नु होला म तपाई को सहयोग आजीवन भुल्ने छुइन संतोष जी | यदि म बाट अन्जान मा कुनै गल्ति भएको भए अज्ञानी सम्झी माफ गर्नु होला |                                                          अज्ञानी    मित्र   बिना केशी ( इजरायल )

युरोप छिराउने प्रलोभन देखाएर नेपालीलाई अलपत्र पार्ने नेपाली दलालको जालो अहिले युरोपभरि नै फैलिएको छ । नेपाली दलालहरुको जालो यति साह्रो फैलिएको छ कि यसलाई काट्न अब सामान्य कैंचीले नहुने भएको छ । सामान्य कैंचीले काट्न खोज्नेहरु त यही जालोमा बेरिनसमेत बेर लाग्दैनन् । यस्तो बिचित्रको जालोमा सोझासाझा नेपालीहरु सजिलै फसिरहेका छन्, ढडियामा माछा फसेजस्तो । अनि कैयन नेपालीहरुको जिन्दगी नै बर्बाद हुने गरेको छ यिनै दलालका कारण ।
बेल्जियम छिर्न खोज्ने नेपाली चेलीको बिजोग
इजरायल, पोल्याण्ड, युक्रेन र हंगेरीको बाटो हुँदै आर्थिक सम्पन्न मानिने युरोपियन देशहरुमा छिर्न खोज्ने नेपालीहरु दलालहरुको जालोमा फस्ने गरेका हुन् । यसरी फस्नेहरुमा इजरायलबाट बेल्जियम छिर्न खोज्ने नेपाली चेलीहरुको संख्या बढ््दै गइरहेको छ । र, दलालहरुका पहिलो शिकार पनि इजरायलबाट बेल्जियम छिर्न खोज्ने नेपाली चेलीहरु नै हुन् । नेपालबाट केयर गिभरको रुपमा काम गर्न इजरायल पुग्ने गरेका छन् कैयन नेपाली चेलीहरु । तर उनीहरु इजरायलमा सन्तुष्ट छैनन् । पैसाको मुख कालो हुन्छ भनेजस्तै अझ धेरै पैसा कमाउने आशामा उनीहरु बेल्जियम छिर्नका लागि दलालको सहारा लिन पुग्छन् । हुन पनि दलालहरुले बेल्जियम छिराउने लोभ देखाएपछि उनीहरुमा आशा लाग्ने नै भयो । तर दलालहरुले त लोभ मात्र देखाउने गरेका छन् । उनीहरु नेपाली चेलीहरुको पैसा हसुर्छन् अनि बेपत्ता हुन्छन्् । इजरायलबाट बेल्जियम छिर्नका लागि दलाललाई पैसा बुझाउने नेपाली
चेलीहरु भने रिडी न अर्गली हुने गरेका छन् ।  दलालहरु रकम पचाएर सम्पर्कविहीन हुने गरेपछि पीडितहरुले इजरायलमा वर्षौं लगाएर कमाएको पैसाबाट दलाललाई मस्ती हुने गरेको छ भने पीडितहरुको बेल्जियम पुग्ने सपना पनि हुरीले उडाउने गरेको छ । दलालहरुले बेल्जियम छिराउने भन्दै नेपाली चेलीहरुबाट ६ लाख नेपाली रुपैयाँसम्म असुल्ने गरेका छन् ।
इजरायलमा नै सक्रिय यस्ता नेपाली दलालहरुले बेल्जियम मात्र होइन, न्युजिल्याण्ड र स्पेनजस्ता देशमा छिराउने र कामको ग्यारेन्टी गराइदिने आश्वासन दिन्छन् । रकम नपाउँदासम्म उनीहरु निरन्तर सम्पर्कमा रहने गर्छन्् । तर जब रकम हातमा पर्छ तब उनीहरु सम्पर्कविहीन हुने गरेको पीडितहरुको गुनासो छ ।
को–को छन् नेपाली दलाल ?

वास्तविक नाम त लालबहादुर खत्री हो । नेपालीलाई  ठग्न सजिलो होस् भनेर उनले नक्कली नाम राखेका छन् । हो,  उनले आफ्नो नाम दिनेश अधिकारी बताउने गर्छन् । त्यसैले उनलाई धेरै नेपालीले दिनेश अधिकारी भनेर चिन्ने गर्छन् । त्यो बाहेक उनका अरु पनि नक्कली नाम छन्् । केही वर्षदेखि बेल्जियममा रहँदै आएका उनले नेपालीलाई ठग्दै आएका छन् ।  लाखौं रकम कुम्ल्याउँदै आएका छन् । लालबहादुरलाई उनका साथीहरु दीपक र कृष्णसिंहले समेत सघाउँदै आएका छन् ।
लालबहादुरले सुरुमा कसैलाई फसाउनु परेमा मित्रताको नाटकसमेत गर्दै आएका छन् । उनलाई इजरायलमा रहेका उनका आफन्तहरुले पनि दलालीमा सघाउने गरेका छन्् । लालबहादुरलाई इजरायल जानै पर्दैैन । इजरायलमा रकम उठाउने जिम्मा पनि उनकै गिरोहका व्यक्तिले लिएका छन् । त्यसबापत लालबहादुरले केही रकम कमिशनबापत दिनेसमेत गरेका छन्् । रकम हात परेपछि भने मोबाइल नम्बर नै परिवर्तन गर्छन् लालबहादुर । उनले कतिवटा मोबाइल नम्बर परिवर्तन गरिसके भन्ने कुराको लेखाजोखा छैन ।
यसरी ठगिइन् बेल्जियम छिर्न खोज्ने बिना
चारवर्षदेखि इजरायलमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन्् बिना केसी । उनलाई पनि बेल्जियममा रहेका नेपाली दलाल लालबहादुरले नै ठगेका हुन् । बिनालाई पनि लालबहादुरले नक्कली नाम बताएका थिए । तर सोझी बिनाले पत्तै पाइनन् ।
सुरुमा त बिनालाई अलिअलि शंका पनि लागेको थियो । तर लालबहादुरले विनालाई विश्वासमा पार्न बेल्जियममा रहेका आफ्ना आफन्तलाई लगाएपछि विनालाई आफू फस्दै छु भन्ने पत्तो भएन । त्यसैले उनले खनखनी गनेर १२ सय युरो बुझाइन् लालबहादुरलाई, मनिग्राममार्फत । तर रकम पाएपछि लालबहादुर सम्पर्कविहीन भए ।
सुरुका दिनमा लालबहादुरले आफ्नो मोबाइल नम्बर ००३२४८६३५१६५३ दिएका थिए बिनालाई । यही नम्बरमा धेरैपटक कुराकानी पनि भएको थियो । तर रकम बुझाएपछि यो नम्बरमा सम्पर्क हुन छोड्यो । अर्थात् लालबहादुरले मोबाइल नम्बर नै परिवर्तन गरे ।
बिनाले इजरायलमा लालबहादुरका प्रतिनिधिहरुलाई पनि भेट््न नखोजेकी होइनन् । तर उनीहरुको खोजी गर्दै जाँदा उनीहरु पनि इजरायल नफर्कने गरी नेपाल गएको पत्ता लाग्यो ।
बिना मात्र होइन, दिनेश उर्फ लालबहादुरले अरु थुप्रै नेपाली चेलीहरुको रकम पचाइदिएका छन्् । नेपालीलाई ठगेको लाखौं रकममा मस्ती चल्ने गरेको छ लालबहादुरको । विश्वसन्देशले बेल्जियममा रहेका भनिएका लालबहादुरलाई सम्पर्कको प्रयास पनि गरेको थियो । तर १० दिनसम्म फोन सिधै मेसेजबक्समा गयो । लालबहादुरसँग सम्पर्कको प्रयास सफल हुन सकेन ।
इजरायलबाट बेल्जियम मात्र होइन, न्युजिल्याण्ड छिराउने भन्दै दलालहरुले इजरायलमा रहेका नेपालीहरुबाट लाखौं रकम असुल्दै आएका छन् । कोही इजरायलबाट बाटो नलाग्दै ठगिएका छन् कोही बीच बाटोमा अलपत्र पारिएका छन् । यसरी अलपत्र पर्नेहरुमा नेपाली महिलाहरु रहेका छन् । कोही कोही भने निकै सास्ती भोगेर बेल्जियम वा न्युजिल्याण्ड छिर्न सफल पनि भएका छन् । इजरायलमा कार्यरत पत्रकार कृष्ण भण्डारी भन्छन्– इजरायलबाट युरोपका देशहरुमा छिर्नका लागि दलाललाई पैसा खुवाउने लहर नै चलेको छ तर दलालहरु भने रकम पाएपछि फरार हुने गरेका छन् ।
युरोप छिर्न खोज्दा जेलको बास

युरोप छिर्न खोज्ने नेपालीहरु जेलको छिंडीमा समेत पुग्ने गरेका छन्, दलालहरुकै कारण । केही समय पहिले रोमानिया छिर्न खोज्दा दुई जना नेपालीलाई रोमानियाको प्रहरीले हंगेरी र रोमानियाको सीमा क्षेत्रबाट पक्राउ गरेर जेल हालेको थियो । केही समय जेलमा राखेपछि उनीहरुलाई अब ५ वर्ष रोमानिया छिर्न नपाउने गरी नेपाल पठाइएको थियो ।
मोरङका दिलिप श्रेष्ठ र म्याग्दीका बलमान घर्तीमगर यसरी नेपाल डिपोर्ट भएका हुन् । उनीहरुले नेपालमा नै दलाललाई ६ लाख नेपाली रुपैयाँ बुझाएका थिए रोमानिया छिर्नका लागि । तर दुईहप्ते टुरिष्ट भिसामा हंगेरी आएका उनीहरुलाई रोमानियामा लुक्न सफल भएनन्, बीचैमा पक्राउ परे । रोमानियाको सीमा क्षेत्रमा पक्राउ परेका उनीहरु अब ५ वर्षसम्म रोमानिया छिर्न नपाउने भएका छन् । कमजोर आर्थिक अवस्था भएका उनीहरुले अहिले नेपालमा नै निकै कठिन परिस्थितिको सामना गरिरहेका छन् । उनीहरु मात्र होइन, यसरी युरोपमा कैयन नेपालीहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुलाई त्यहाँका सरकारले नेपालमा डिपोर्ट गर्दै आएका छन् ।
दलालले छाडेपछि बीचैमा अलपत्र

हंगेरी मात्रै होइन पोल्याण्डमा छिरेर त्यहाँबाट बेल्जियम, स्पेन र फ्रान्स पुगेर लुक्ने नेपालीको जमात पनि ठूलै रहेको छ । यो सबै प्रपञ्च मिलाउने काम नेपाली दलालहरुले गर्दै आएका छन्् । पोल्याण्डमा काम गर्ने भिसामा आएर त्यहाँ काम नगरी सिधै बेल्जियम आउन खोज्दा कैयन नेपालीहरु बीचैमा अलपत्र पर्ने गरेका छन् । दलालले बीचैमा छाडेपछि उनीहरु अलपत्र पर्ने गरेका हुन् ।
केही दिनअगाडि मात्रै पोल्याण्डको बाटो हुँदै बेल्जियम छिरेका गोबिन्द थापाले दलाललाई ८ सय युरो बुझाएका थिए । दलालले उनका केही साथीहरुलाई स्पेन पनि पठाएको उनले बताएका छन् ।
पोल्याण्डमा नेपालीहरुको यति बदनाम भएको छ कि पोल्याण्डको भिसा लगाएर अरु देशमा गैरकानुनी रुपमा छिर्न थालेपछि पोल्याण्ड सरकारले नेपालीहरुलाई भिसा दिनमा नै कडाइ गरेको छ । तर पनि दलालले अर्कै जुक्ति निकालेका छन् । दलालले नेपालीहरुलाई युक्रेनको बाटो हुँदै बेल्जियम छिराउने गरेका छन् ।
यसै क्रममा झापाका रवी गिरी युक्रेनको बाटो हुँदै बेल्जियम छिरेका छन् । उनले नेपाली दलाललाई ९ लाख नेपाली रुपैयाँ बुझाएका थिए । उनलाई बेल्जियमसम्म छिराउनका लागि नेपालमा रहेका दलालहरुकै गिरोहले सघाएको थियो ।
रोमानियामा फस्दैछन् नेपालीहरु

दलाललाई लाखौं बुझाएर करोडौं रकम कमाउने सपना बोकेर युरोपियन देश रोमनिया छिर्ने नेपालीहरुको सपना सपनामै सीमित हुने गरेको छ । पछिल्लो समयमा दलाललाई ६ लाखसम्म रकम तिरेर रोमानिया छिरेका नेपालीहरुको बिजोग हुने गरेको छ । उनीहरुले काम पाएमा त ३ सय डलरसम्म मासिक आम्दानी गर्छन् तर कामको अभावका कारण उनीहरुले कम्पनीले नेपाल फिर्ता पठाउन थालेपछि उनीहरुको बिजोग भएको हो ।
विगत दुई दशकदेखि रोमानिया बस्दै आएका गैरआवासीय नेपाली संघ रोमनियाका अध्यक्ष नवराज पोख्रेलका अनुसार नेपालीहरु तीन वर्षे भिसामा आउने गरे पनि कम्पनीले उनीहरुलाई कामको अभाव देखाउँदै बीचैमा नेपाल पठाइदिने गरेको छ । जसका कारण झण्डै दुई सयभन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । आएको ऋणसमेत तिर्न नसकेपछि कतिपय मानसिक रुपमा समेत विक्षिप्त हुने गरेका छन् भने कतिपय अर्को देशमा पलायन हुने गरेका छन् ।
यस्तो अवस्था आउँदा पनि समस्या समाधानका लागि न त नेपाली दूतावासले नै पहल गरेको छ न त नेपाल सरकारले नै चासो देखाएको छ । पोखरेलका अनुसार धेरै नेपालीहरु दलालको माध्यमबाट रोमानिया आउने र गैरकानुनी रुपमा बेल्जियम र फ्रान्ससमेत छिर्ने गरेका छन् । यसो गर्दा दलालहरुले कैयनलाई अलपत्र पार्ने गरेका छन् ।
दलालबाट ठगिएकी बिना केसीको बयान

म बिना केसी (विष्णुमाया खकुरेल) इजरायलमा कार्यरत छु । यहाँ काम गरेको ४ वर्ष पुगिसकेको छ । यस्तै सिलसिलामा केही वर्षअघि बेल्जियम बस्ने लालबहादुरसँग चिनजान भयो ।  पछि उनले मलाई बेल्जियम आउने सल्लाह दिए । मेरो पनि यहाँ ४ वर्ष पुगिसकेकोले ठिकै छ नि त भनेर प्रोसेस अगाडि बढाउने निचोडमा पुगें । लागेको पैसा तिर्न सहमति पनि जनाएँ । लालबहादुरका आफन्त इजरायलमा रहेकाले पनि मैले उनलाई विश्वास गरेकी थिएँ ।
उसले मलाई फसाउन इजरायलमा रहेका आफन्तहरुलाई पनि लगाएको रहेछ । त्यसैले उनीहरुले पनि मलाई काम बन्छ भनेर आश्वासन दिने गर्थे । विश्वासमा परेर मैले लालबहादुरलाई जुलाई ६ तारिखमा १५ सय डलर पठाएँ । त्यसपछिका दिनमा उसले तुरुन्त भिसा लाग्ने आश्वासन दिने गरेको थियो ।
अब १ महिनामा काम हुन्छ, तयार भएर बस्नु भनिरहन्थ्यो उसले । तर फेरि एक महिना सरेको बताउँथ्यो । अहिले लालबहादुरका आफन्तहरु पनि नेपाल फर्किसकेका छन् । लालबहादुरसँग पनि सम्पर्क भएको छैन । उसलाई सघाउने उसका साथीहरु कृष्ण सिंहलाई मोबाइल नम्बर ३२४८५६५६१८० मा सम्पर्क गर्दा लालबहादुर छुट्टीमा नेपाल गएको बताए । अहिले लालबहादुरले न मलाई बेल्जियम छिरायो न पैसा फिर्ता दियो । लालबहादुर यस्तो बदमास होला भनेर मैले सोचेकै थिइन । मैले पैसा दिँदा लालबहादुर पोर्चुगलमा थिए । उनले काम नबने पैसा फिर्ता दिने आश्वासन पनि दिएका थिए । तर पछि मैले इमेल लेख्दा मेरो कम्प्युटरमा भाइरस छ इमेल नलेख्नु भने । अहिले त फोन नम्बर नै बदलेका छन् । मैले लालबहादुरका बिरुद्ध कतै उजुरी गरेकी छैन । लालबहादुरको घर नेपालमा फत्तेपुर सिवाइमा हो । घरमा उनका बुबाआमा मात्र हुनुहुन्छ । लालबहादुरका छोरा र श्रीमती काठमाडौंमा नै छन् । लालबहादुरले आफ्नो घर काठमाडौंको नयाँ बानेश्वरमा बताउँदै आएका छन् ।
दलाललाई पक्रन नेपाल सरकारले बेल्जियमको सरकारलाई निर्देशन दिनसक्छ – प्रमेशकुमार हमाल , बेल्जियमका लागि नेपाली राजदूत
नेपालीहरु बेल्जियम छिर्ने बहानामा दलालबाट ठगिएको जानकारी आएको छ कि छैन ?
अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । कोही पीडितहरु गुनासो गर्न पनि आएका छैनन् । तर आएको खण्डमा हामी कानुनी प्रक्रियाका लागि केस सिधै नेपाल पठाइदिन्छौं । र, नेपालको कानुनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउन सक्छौं । हामीले परराष्ट्र मन्त्रालयमार्फत काम–कारबाही अगाडि बढाउने व्यवस्था रहेको छ ।
कारबाहीका लागि सिफारिस गर्नेबित्तिकै दलालहरु भाग्ने सम्भावना हु“दैन त ?
त्यस्तो सम्भावना हुँदैन । केस कस्तो खालको हो त्यो हेरेर हुन्छ । यदि जटिल खालको रहेछ भने बेल्जियम सरकारलाई नेपाल सरकारले सुचना गरेर सम्बन्धित ब्यक्तिलाई पक्राउ गर्नको लागि निर्देशनसमेत दिन सक्छ । कोही भाग्न पाउदैन ।
नेपालीलाई ठग्ने नेपाली दलालहरुलाई कारबाहीको दायरामा ल्याउन के गर्नुपर्ला ?
कारवाहीको दायरामा ल्याउनका लागि सुरुमा त पीडितले उजुरी दिनुपर्छ । त्यसपछि मानवतस्करी र ठगीसम्बन्धी कानुनअनुसार दोषीलाई कारवाही हुन्छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae