Sahara Sansar

Monday, June 20, 2011

मुलुकको सुरक्षामा चुनौती कायम : गृहमन्त्री

असार ६ काठमाडौं  । उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले मुलुकको सुरक्षा चुनौती कायम रहेको बताउनुभएको छ ।संसदको राज्यव्यवस्था समितिमा मन्त्री महराले दलहरुबीच भएको सहमति अनुसार नयाँ संविधानको एकीकृत मस्यौदा निर्माण र शान्ति प्रक्रिया निस्कर्षमा पुग्न नसके भदौ १४ आसपासका दिनमा सुरक्षा चुनौती बढ्ने खतरा रहेको बताउनुभयो ।

उहाँले दलहरुबीच राजनीतिक सहमतिको विषयलाई लिएर राजनीतिक लाभ हानीको प्रतिस्पर्धा सुरु भएका कारण सुरक्षा चुनौती बढेको बताउनुभएको छ । कतिपय धार्मिक अतिवादी, पूर्वराजावादी, ठेक्का पट्टाका सङ्गठित अपराधीलगायतले सुरक्षा चुनौती थपेको महराको भनाइ छ ।

यसैवीच, पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई दुई हप्ता बितिसक्दासमेत नियन्त्रणमा लिन नसकेको भन्दै सभासद्हरुले सरकारको आलोचना गरेका छन् ।

सभासद्हरुले पत्रकारका आक्रमणकारीले पक्राउ गर्न चुनौती दिँदै हिँड्दासमेत प्रशासन मौन बसेको भन्दै आपत्ति जनाएका हुन् । काङ्गे्रसका अर्जुनप्रसाद जोशीले पत्रकारमाथि आक्रमण गर्नेले उल्टै राज्यलाई चुनौती दिएको घटनाले देशको शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलका कार्यकर्ताबाटै पत्रकारमाथि आक्रमण गर्ने र उनीहरुलाइ हप्तौँ बितिसक्दा समेत कार्वाही गर्न नसक्नुले मुलुकको शान्ति सुरक्षाको अवस्था अत्यन्तै विकराल बनेको बताउनुभयो ।

एमालेका थममाया थापाले सरकारले चाह्यो भने अपराधी पक्राउ गर्न सक्ने भएपनि सरकारले जिम्मेवार संगठनका सदस्यलाई पक्राउ नगरेर घटनालाई राजनीतिकरण गर्न खोजिएको दावी गर्नुभयो ।

एकीकृत माओवादीका हरिराज लिम्बुले पत्रकार हत्याको प्रयास गर्नेलाई प्रहरीले पार्टी कार्यालयमा लगेर ससम्मान छाड्ने काम गरेर सरकारले राम्रो काम नगरेको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae