Sahara Sansar

Sunday, April 24, 2011

आर्थिक विकास र सामाजिक रुपान्तरण आवश्यक: देवकोटा

राजेन्द्र न्यौपाने
 बैशाख ११ घ्याच्चोक । राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष दिनेशचन्द्र देवकाटाले अहिले देशमा
आर्थिक सामाजिक रुपान्तरणको आवश्यकता भएको बताउनुभएको छ । गोरखा जिल्लाको दुर्गम गाउँ विकास समिति घ्याच्चोक गाउँ विकास समितिलाई पूर्ण सरसफाईयुक्त नमूना गाउँ विकास समिति घोषणा गर्ने क्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

हाम्रो गाउँ पूर्ण सरसफाईयुक्त छ यसमा हामीलाई गर्भ छ, पानी छोपेर राखौं, सफा पानी पिउने गरौं लगायतका प्ले कार्ड बोकेका सयौं मानिसहरुको उपस्थितिमा गाविसलाई पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गरिएको थियो । उपाध्यक्ष देवकोटाले आफू गोरखाली भएकोले गोरखा जिल्लाको विकासको लागि निरन्तर लागि पर्ने बताउनुभयो । यहाँको ग्रामीण क्षेत्रको विकासका लागि स्थानीय स्तरसम्म बजेट आईपुग्ने गरी योजना निमार्ण गर्ने भनाई राख्नुभयो ।

घ्याच्चोक गाउँमा मोटरबाटो, विद्यालय, लघु जलविद्युत र यहाँको जडिबुटी व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने उहाँको भनाई थियो । नेपाल कै प्रथम पूर्ण सरसफाईयुक्त गाउँ, खानेपानीको राम्रो व्यवस्था भएको यो गाउँलाई वातावरण मन्त्रालयबाट दिने यस वर्षको राष्ट्रिय वातावरण पुरस्कार यस गाविसलाई दिन आफुले पहल गर्ने र सँगै रहनुभएका वातावरण मन्त्रालयका सचिव गणेशराज जोशीलाई तत्काल कदम चाल्न आग्रह समेत गर्नुभयो ।
वातावरण मन्त्रालयका सचिव जोशीले खानेपानीको राम्रो व्यवस्था भएपछि गाउँको स्थानीय उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । ेनेपालमा जलबायु परिवर्तनका कारणले असर गरेका ठाउँहरुमा थप बजेट विनियोजन गर्न दातृ निकायहरुसँग छलफल जारी रहेको जानकारी गराउनुभयो । पर्यटन क्षेत्रको विकासबाट नेपालको विकास सम्भव भएको बताउँदै उहाँले हिमाली क्षेत्रको पर्यावरणीय विकासका लागि विशेष योजना ल्याउने तयारी भैरहेको बताउनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका वीर बहादुर तमुले राष्ट्रिय शान्ति र संविधानका लागि माओवादीले अन्तिम अवस्थासम्म संघर्ष गर्ने बताउँदै गाउँको विकास निर्माणमा माओवादी सँधै अगाडि सरेको बताउनुभयो । माओवादीको असल नीतिका कारण नै गाउँ गाउँमा बजेटहरु आएको र गाउँको विकासको रुपरेखा कोरिएको उहाँले प्रष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका गोविन्द गुरुङले दुर्गम गाउँका मानिसहरुले पनि राम्रो काम गर्न सक्छन् भनेर गाउँलेहरु उदाहरण पेश गरेको बताउनुभयो । नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेतले आर्थिक र सामाजिक विकास सँगै राजनैतिक चेतनाको विकास सबैमा हुनुपर्ने बताउनुभयो । आर्थिक समृद्धि विना कुनै पनि विकास हुन नसक्ने बताउँदै उहाँले गाउँको विकास निर्माणका काममा संगठित भई अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाल स्वास्थ्यका लागि खानेपानी ( नेवा ) का अध्यक्ष उमेश पाण्डेले घ्याच्चोक गाउँवासीको सहयोगले योजनाहरु समयमा सम्पन्न भएको र यसको संरक्षण गरी दिर्घकालिन विकास पनि समुदायले गर्नुपर्ने बताउनुभयो ।

उहाँले गोरखाका थुमी, ताङलीचोक र मान्वुमा कार्यक्रम सञ्चालन भैरहेको समेत जानकारी दिनुभयो । बैकल्पिक उर्जा प्रवर्तन केन्द्रका निर्देशक डा. नारायण प्रसाद चौलागाईले गोरखा जिल्लाका ६६ गाउँ विकास समितिलाई उज्यालो बनाउन र यसबाट पर्यटन क्षेत्रको विकास गर्न प्रवर्तन केन्द्र तयार रहेको बताउनुभयो । जिल्ला विकास समितिबाट योजनाका फाईलहरु आए गोरखाको लागि कार्यक्रम प्रदान गर्ने उहाँले बताउनुभयो
कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष ऋषिराम भट्टराई गोरखाका विकट गाउँमा सरसफाई गर्नु राम्रो रहेको बताउँदै उत्तरी गाउँका अन्य गाविस र देशभरी यो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।

सघन ग्रामीण विकास केन्द्र गोरखाका अध्यक्ष ऋषिराम खनालले नेवाको सहयोगमा र घ्याच्चोक गाउँवासीको सक्रियातामा योजना सम्पन्न हुनसकेको बताउँदै यसले अन्य स्थानमा कार्यक्रम गर्न संस्थालाई हौसला मिलेको बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेलले सके सपारौं नसके नविगारौं भन्नुभयो । कार्यक्रममा स्थानीय बालबालिका देखि युवा, वृद्ध,बुद्धिजीवि,समाजसेवी,राजनैतिककर्मी लगायत गा.वि.स.भरीका जनसमुदायहरुको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो । मिलिङ, माझथर, धनसीरा लगायतका गाउँबाट सयौंको संख्यामा आएका मानिसहरुले झाँकी प्रदर्शन गर्नुका साथै मारुनी,बर्खीनाच, चुड्का लगायतका स्थानीय कलासंस्कृतिहरु प्रस्तुत गरेका थिए ।कार्यक्रमले महोत्सवको रुप लिएको थियो ।

राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले घ्याच्चोकको सुम खोलामा तयार गरिएको २० किलोवाट क्षमताका लुघ जलविद्युत आयोजनाको शनिबार एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो ।

गाविसलाई खानेपानी युक्त र पूर्णसरसफाईयुक्त गाविस घोषणा गर्ने क्रममा आयोजित उक्त कार्यक्रममा स्थानीय कुमारी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी घ्याच्चोक गाविस स्तरीय खाने पानी स्वास्थ्य तथा सरसफाई समन्वय समितिका उपाध्यक्ष सन बहादुर तामाङ, सचिव आश बहादुर गुरुङ, खानेपानी कार्यलयका प्रमुख ध्रुवमणी पौडेल लगायतले गाउँमा विगतको अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।
सो कार्यक्रममा गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष काजीराम रोका, नेवाका मध्य तथा पश्चिमाञ्चल संयोजक लगायतले मन्तव्य राख्नुभएको थियो । नेपाल स्वास्थ्यको लागि खानेपानी (नेवा), वैकल्पीक उर्जा प्रवर्दन केन्द्र, उर्जा क्षेत्र सहयोग कार्यक्रम, फनवोर्ड नेपालको सहयोगमा घ्याच्चोक गाविस स्तरीय खानेपानी स्वास्थ्य तथा सरसफाई समन्वय समिति र सुमखोला लघु जलविद्युत आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँमा यस अघि शौचालय नभएको र खुलादिशा गर्दा मान्छेले देख्ने हुनाले किस्ताबन्दीमा गर्नुपर्ने अवस्था रहेकोले अवका दिनदेखि यो अवस्थाको अन्त्य भएको मिलिङकी स्थानीय ८० वर्षिय विष्णु गुरुङले बताउनुभयो।गाउँमा विजुली बत्ती , खानेपानी, शौचालयको राम्रो प्रवन्ध भएपछि गाउँलेहरुले स्थानीय समूहलाई प्रोत्साहन गर्न गाउँमुखि बजेट ल्याइदिन आग्रह समेत गरेका छन् । उक्त गाविसमा ४१३ घर धुरी रहेको छ भने २०४६ सालको जनआन्दोलन पछि घोषणा गरिएको गोरखाको यो कान्छो गाविस हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae