Sahara Sansar

Monday, February 7, 2011

जमिम शाहको हत्या भएको एक वर्ष पुगेको पुण्यतिथीमा श्रद्धाञ्जली कार्यक्रम

माघ २४ काठमाडौं।  स्पेश टाइम नेटवर्कका अध्यक्ष तथा च्यानल नेपाल टेलिभजनका संचालक जमिम शाहको हत्या भएको एक वर्ष पुगेको पुण्यतिथीमा सोमबार  श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको आयोजनामा भएको कार्यक्रममा उहाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो । श्रद्धाञ्जली सभामा उपस्थितिहरुले हत्याका दोषीलाई सरकारले कारवाही गर्न देखाएको उदासिनताको विरोध गर्दै राजनीतिक संरक्षण मिलेकोमा आपत्ति जनाएका छन् ।
पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका अध्यक्ष शाहको हत्या भएको एक वर्ष भइसक्दा पनि हत्यारालाई कानुनी दायरामा नल्याई सरकार मुकदर्शक बनेर बसेको भन्दै चर्को विरोध गर्नुभयो । उहाँले सञ्चार उद्यमी शाहको हत्यारालाई पक्राउ गर्न चौतर्फि दबाब भएतापनि सरकारले बेवास्ता गरेको बताउदै पत्रकार तथा संचार उद्यमीहरुका हत्याराहरुलाई कानुनी दायरामा ल्याउन सरकारले जोड दिनुपर्ने बताउनु भयो ।

उपाध्यक्ष गोविन्द आचार्यले शाह एक देशभक्त नागरिक भएकै कारण हत्या भएको बताउनु भयो । उहाले देशको सेवामा लागेका कारण केही विदेशी शक्तिले उहाको हत्या गरेको आरोप लगाउनुभयो । उपाध्यक्ष आचार्यले यस विषयलाई औपचारिक भाषणमा मात्र सिमित नगरी जबसम्म हत्यारालाई कानुनी दायरमा ल्याइदैन, तबसम्म सडकमा उत्रिए सरकारलाई निरन्तर दवाव दिनुपर्ने बताउनु भयो ।
महासंघका महासचिव पोषण केसीले अपराधिलाई राजनीतिक संरक्षण भएकै कारण कार्वाही हुन नसकेको वताउनुभयो । उहाँले सरकारमा रहेका दलहरुले नै अपराधिलाई संरक्षण गरेकाले प्रक्राउ गर्न सुरक्षा संयन्त्र उदासिन वनेको जिकिर गर्नुभयो । महासचिव केसीले तत्कालिन संचारमन्त्रीले शाहको हत्या संचारउद्यमीका रुपमा नभएको भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै जनताप्रतिको दायित्वबाट पन्छिन  खोजेको दावी गर्नुभयो ।
महासंघका केन्द्रिय सचिव रामजी दाहालले स्वर्गीय जमिम शाहको हत्यारालाई कारवाही गर्न सरकारद्धारा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले यस्ता घटनाहरुका सम्बन्धमा छानविन समितिहरु गठन गरी तयार गरिएका प्रतिवेदनहरु लुकाएर राख्ने प्रवृत्तिले गर्दा मुलुकमा दण्डहिनता बढेर गएको बताउनु भयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गगन विष्टले स्वर्गीय जमिम शाहको हत्यारालाई कारवाही गर्न सरकारले जुन उत्सुकता देखाउनु पर्ने हो त्यो नदेखाएको बताउनु भयो । हत्यारालाई पक्राउ नगरेर सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको उल्लेख गर्दै राज्यले शान्ति सुरक्षाका सम्बन्धमा प्रभावकारी भूमिका निवार्ह गर्न नसकेको उल्लेख गर्नु भयो ।

शाहका छोरा एंव नेटवर्क तथा च्यानल नेपालका संचालक ज्याकी शाहले स्वर्गीय जमिम शाहका छोरा ज्याकी शाहले आफ्ना पिताले सञ्चार क्षेत्रमा अग्रणी भुमिका खेली नेपाली संस्कृतिलाई दर्शाउन स्याटलाइट टेलिभिजनको स्थापना गरेको बताउनुभयो । उहाले आफ्ना पिता एक व्यवसायी भए तापनि आफ्नो भन्दा अरुको भलाईको लागि सदैव लागी परेको उल्लेख गर्दै देश र जनताका लागि ठूलो लगानी गरेपनि त्यसको वेवास्था गरिएको गुनासो गर्नुभयो । आफ्नो पिताको हत्या भएको यतिका दिन बित्दा पनि हत्यारालाई खोजी र कारवाही नगर्नु दुखद भएको बताउनु भयो । उहाले शान्तिको प्रतिकको रुपमा चिनेन नेपालमा दिनहु दण्डहीनता बढ्दै गएको भन्दै सरकारले सबै जनताको सुरक्षाको प्रत्याभुति दिनु पर्नेमा जोड दिनुभयो । आफ्ना पिताले जस्तै अरु कसैले पनि यस्तो नियती पुनः भोग्न नपरोस भनेर सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा च्यानल नेपाल टेलिभिजनका पूर्व समाचार प्रमुखहरुले स्वर्गीय शाहको हत्यारालाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाले हत्यारालाई कारवाही गर्ने काममा सरकार उदासीन भएकाले सबै सञ्चारकर्मीहरु सबै एकजुट भई सरकारलाई चौतर्फी दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

केबल टेलिभिजन एसोसियसनका अध्यक्ष दिनेश सुवेदीले नेपालमा पहिलो पटक केवुल टेलिभिनज संचालन गर्नु भएका शाहको सपनालाई साकार पार्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । अखिल नेपाल संचार र छापाखाना र प्रकाशन मजदुर संघ मुल इकाई कमिटि संघका अध्यक्ष छविरमण आचार्यले सञ्चार उद्योगको जन्मदाताको रुपमा रहेका स्वर्गीय जमिम शाहलाई राज्य तथा सम्पूर्ण सञ्चार क्षेत्रले उहालाई कदर गर्नुपर्ने बताउनु भयो ।

शाहको २०६६ माघ २४ गते राजधानीको अति व्यस्त र सुरक्षित मानिएको लाजिमपाटमा दिनदहाडै गोली हानी कायरतापूर्वक हत्या गरिएको थियो । दरबारमार्गबाट पानीपोखरीस्थित निवास जादै गर्दा शाहमाथि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले फ्रान्सेली दुतावास अगाडि कायरतापुवर्क गोली हानी हत्या गरेका थिए । हत्यामा संलग्न प्रमुख अभियुक्तहरुलाई अहिलेसम्म प्रहरीले प्रक्राउ गर्न सकेको छैन ।
शाहको हत्या भएको समयमा लाजिम्पाट क्षेत्रमा खटिएका सुरक्षाकर्मीले लापारबाही गरेको आरोपमा चार प्रहरीलाई निलम्बन गरेपनि मुख्य अभियुक्तहरु अझै फरार रहेका छन् । २०६६ साल माघ २६ गते प्रहरीले ड्युटीमा रहेका असइ लोकेन्द्र पन्त, प्रहरी तुलबहादुर अधिकारी, दुर्याेधन यादव र अनिल राईलाई आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै निलम्वन गरेको थियो । बा १ च २१५१ नम्बरको पजेरो जीपमा सवार शाहलाई फ्रेन्स दुतावास अगाडि लाजिम्पाटमा यामाहा क्रुज मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए । माघ २४ गते प्रहरीले शाहको हत्या आरोपमा ६ जना भारतीय नागरिक माथि अनुसन्धान थालेपनि विचैमा सेलाएको थियो । हत्याका मुख्य योजनाकार बब्लु सिंह रहेको दाबी गर्दै हत्या पूर्व ६ महिनाअघि देखि नै सिंह राजधानीमा बस्दै आएको प्रहरीले दावी गरेको थियो । नेपाली एक सञ्चार माध्यम मार्फत सो हत्यामा भारतबाट भरत नेपाली नामका व्यक्तिले जिम्मेवारी लिएको भन्ने समाचार बाहिर आएको थियो । शाहलाई हत्या गरेको दुई दिन पछि प्रहरीले बालाजु नजिक फुतुङ्ग गाविसबाट हत्याका क्रममा प्रयोग गरिएको भनिएको बा १५ प ८७३३ नम्बरको रातो मोटरसाइकल फेला पारेको थियो ।

शाहको हत्याकै भोलि पल्ट माघ २५ गते सरकारले पूर्व न्यायधिश गोविन्द प्रसाद पराजुलीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले २०६७ बैशाख २९ गते बुधबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । समितिले शाहको हत्यामा भारतीय आपराधिक समूहको हात रहेको ठहर गर्दै एक सय ९२ पृष्ठको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको यतिका समय वितिसक्दा पनि अझै सार्वजनिक गर्ने दुश्सहास सरकारले गर्न सकेको छैन । छानविन समितिको म्याद पटक पटक थप गरेर गृहमन्त्रालयलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक नगरेर सरकारले पिडितलाई थप पिडित र दुखीत बनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae