राजेन्द्र न्यौपाने
माघ २३ गोरखा । पृथ्वी राजमार्गका दैनिक हजारौं सवारी आवागमन हुँदा पारीबाट गाडिको हर्न सुनेर र गाडि गुडेको देखेर चित्त बुझाउन बाध्य भएको गोरखा ताक्लुङ गाउँ विकास समिति ठेउवाटारका बासिन्दाहरूमा अहिले खुशीयाली छाएको छ । गाउँ विकास समितिको लगानीमा गाउँमा ग्रामीण सडक निर्माण भएपछि उनीहरूको खुशीका दिन आएको हो ।
तीन वर्ष अघिदेखि निर्माण कार्य थालनी गरेर हालै मात्र कच्ची सडकको काम सम्पन्न भएको उक्त सडक सोही गाउँ विकास समितिको वडा नं. २ द्वारेकुवादेखि अर्लाङ्गदी, बाहुनथोक, तेर्से हुँदै त्रिशुली किनारमा रहेको ठेउवाटार सम्म रहेको छ ।
कुल १३ लाख ५८ हजार ८ सय ६५ रुपियाँ कुल लागत रहेको सो सडकमा ना ३ ख ३६७५ नं.को फोरव्हील ट्रक पुगेपछि स्थानीय गाउँलेहरू अबिर मालाले स्वागत गरेका छन् ।
सडक निर्माण पछि गाउँको उत्पादन पृथ्वीराजमार्ग सम्म ल्याउन सजिलो भएको स्थानीय वृद्ध टेकबहादुर थापा बताउनुहुन्छ । ताक्लुङका अल्पसंख्यक चेपाङ, दराई, लगायत मगर समुदायका बासिन्दाहरूले सडकबाट फाईदा लिनसक्ने गाउँ विकास समितिका सचिव ऋषिराम ढकाल बताउनुहुन्छ ।
त्यस क्षेत्रका बासिन्दाहरू उन्नत प्रविधिबाट तरकारी खेती गरी आफ्नो दैनिक जीवन चलाउँदै आइरहेका छन् । सडक निर्माणसँगै राजधानी लगायतका शहरबाट गाउँ जानेहरूका लागि समेत सहज हुने भएको छ । कच्ची सडक निर्माणबाट गाउँलेहरूको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।
0 comments:
Post a Comment