बैशाख १८ काठमाडौं । आज मे १ अर्थात, एकसय २२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।“विश्वका मजदुर एक होऔ” भन्ने नाराका साथ आज विश्वभरिका श्रमिकहरुले श्रमिक दिवस मनाउँदैछ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु हुँदैछन् । राजधानीको खुल्लामञ्चमा अहिले एमाले निकट टे«ड युनियनले कार्यक्रम गरिरहेको छ ।
यसैबीच १२२ औ श्रमिक दिवसको अवसर पारेर नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड यूनियन काङ्ग्रेसले राजधानीमा गरेको कार्यक्रममा काङ्ग्रेसका युवा नेता गगन थापाले मजदुर नेता स्व. गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै सम्पूर्ण श्रमिकहरु एक नभएसम्म मजदुर समस्या समाधान नहुने भन्दै मजदुरहरुलाई एक हुन आग्रह गर्नुभयो । नयाँ संविधानमा श्रमिकहरुका अधिकारलाई स्थापित गर्ने काममा काङ्ग्रेस लागिरहेको जानकारी गराउँदै थापाले औद्योगिक क्षेत्रमा माओवादीहरुको ज्यादति अन्त्य हुनुपर्ने अन्यथा वास्तविक रुपमा मजदुरको अधिकार स्थापित नहुने दावी गर्नुभयो । कार्यक्रम सुरु हुनु भन्दा पहिले काठमाडौको त्रिपुरेश्वरबाट जुलुस सहित बसन्तपुरमा पुगेको थियो । फरक प्रसङ्गमा थापाले माओवादी बैठकले पारित गरेको शान्ति र संविधानकोे एजेन्डा सकरात्मक भएपनि विश्वास गर्ने कुनै आधार नभएको बताउनुभयो । साथै उहाँले काङ्ग्रेसलाई जनवादी संविधान मान्य नहुने पनि दावी गर्नुभयो ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ लगायतका हक–अधिकारको स्मरण गराउने दिनको रुपमा आज विश्वभरका श्रमिकहरुले यो दिवस मनाउँदैछन् । एकसय २१ वर्ष अघि अर्थात् सन् १८८६ मे १ का दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर अमेरिकाको सिकागो शहरको हे मार्केटमा श्रमिकहरुले पहिलोपटक प्रदर्शन गरेका थिए । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष श्रमिकहरुले अन्तर्राष्ट्रिय दिवसकै रुपमा श्रमिक दिवस मनाईने गरिएको छ । नेपालको सन्दर्भमा भने वि.सं. २००३ सालमा विराटनगरबाट नेपाली श्रमिकहरुले आन्दोलन गरेको पाइन्छ । बिहान काठमाण्डु सहित देशका विभिन्न शहरमा मजदुरहरुले र्याली निकालेको छन् ।
0 comments:
Post a Comment