Sahara Sansar

Saturday, May 28, 2011

संविधानसभाको भविश्य अन्यौलमा, सभासदहरु शीर्ष नेताहरुको प्रतिक्षामा


जेठ १४ काठमाडौं।  संविधानसभाको म्याद सकिन केही घण्टा बाँकी रहँदा पनि त्यसको भविष्यबारे अन्यौल रहेको छ । एकबर्ष थपिएको संविधानसभाको म्याद आज मध्यरातिबाट सकिँदैछ । दलहरुलाई दवाव दिन संविधानसभा भवन बाहिर विभिन्न संघ संगठनहरुले विहानैदेखि विभिन्न कार्यक्रम गरिरहेका छन् । 

बैठकका लागि संविधानसभाभवन नयाँ बानेश्वर पुगेका सभासदहरु पनि रुखको छहारी खोज्दै टहलिरहेका छन् । सबै दलका सभासदहरु शीर्ष नेताले के निर्णय गर्छन् भन्ने प्रतीक्षामा कहिले क्यान्टीन,  कहिले शीतल छायाँको खोजीमा संविधानसभा परिसरमा टाँगिएका पालमा ओहोर दोहोर गरिरहेका छन् । संविधानसभा भवनभित्र रहेका सभासद जस्तो अन्यौलमा छन् त्यस बाहिर जम्मा भएका नागरिकहरु पनि दलहरुको प्रतीक्षामा रहेका छन् । 

यसै बिच माओवादी, कङ्ग्रेस र एमालेका शीर्ष नेताहरुबीचको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला तथा एमाले अध्यक्ष तथा प्रधान मन्त्री झलनाथ खनालसहितका नेता बैठकमा सहभागी छन्। बैठकमा माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणबारे आफ्नो प्रस्ताव राख्‍नेछ।

निर्धारित अवधिमा संविधानसभाबाट संविधान नबनेपछि गतवर्ष १४ गते दिनभरीको छलफलपछि अन्तिम समयमा म्याद थप गरिएको थियो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae