Sahara Sansar

Saturday, May 28, 2011

संविधान सभाको म्याद फेरि तीन महिनाको लागि थपियो

जेठ १५ काठमाण्डौ । संविधानसभाको म्याद ३ महिना थप गरिएको छ । तोकिएको दूई वर्षपछि थप गरिएको एक वर्षमा पनि संविधान बन्न नसकेपछि दलहरुले संविधानसभाको मिती फेरि थप गरेका छन् । लामो छलफलपछि दलहरु आज बिहान ३ बजे मात्रै म्याद थप गर्ने सहमतिमा पुगेका हुन् । शान्ति प्रकि्रया संविधानसभा र सत्तासाझेदारीलाई जोडेर दलहरुले पाँच बुदे सहमति गरेका छन् । सहमतिको पाँचौ बुदामा प्रधानमन्त्रीको राजिनामा राखिएको भएपनि केहीदिनमा प्रधानमन्त्रीले दिनैपर्ने कडाई नगरिएको स्रोतले जनाएको छ । सहमतिमा शान्ति प्रकि्रया तीन महिनामा पुरा गर्ने तीन महिनामै संविधानसभाको एकीकृत मस्यौदा बनाउने नेपाली सेनामा समावेसी संरचना बनाउने प्रधानमन्त्रीले सहमतिका लागि राजीनामा दिएर मार्गप्रसस्थ गर्ने र तीन महिना म्याद थप गर्ने रहेको छ । तीनै सहमतिका आडमा दलहरुबीचको सहमतिपछि चौथो पटक बसेको ब्यावस्थापिका संसदको बैठकले संविधानसंसोधन विधेयक अत्याधिक बहुमतले पारित गरेको थियो । संविधानसभाको म्याद थप्ने विधेयकमा मतदानमा सहभागि भएका पाँच सय ८ जना सभासद मध्ये ५ सय ४ जनाले म्याद थप्ने पक्षमा मतदान गरेका थिए भने विपक्षमा ४ जनाको मत परेको थियो । दुईतिहाई बहुमतले विधेयक पारित भएको सभामुख सुवासचन्द्र नेम्वाङले घोषणा गर्दा बिहानको साढे पाँच बजेको थियो । आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गर्नुभएको छ । यसअघि मतदान सुरु हुनुअघि मधेसी मोर्चाका तर्फबाट बोल्दै सभासद जेपी गुप्ताले मोर्चा मतदानमा सहभागी नहुने जानकारी दिनुभयो । व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो । बैठकमा नेपालको अन्तरिम संविधान नवौँ संशोधन विधेयकमा १ वर्षका लागि नभई ३ महिना म्याद थप्ने संशोधन प्रस्ताव नेपाली काग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राख्नुभएको थियो । गएराती सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । तर दलहरु सहमतिमै अल्झीएपछि सभामुखले घोषणा गर्नुभए पनि तीन घण्टा पछि बैठक सुरु गर्नु भएको थियो । दलहरुबीच शान्ति प्रकि्रया पुरा भए संविधानसभाको म्याद अर्को पटक पनि थपिनेछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae