Sahara Sansar

Tuesday, May 31, 2011

यार्सा गुम्बा संकलन गर्ने क्रममा बझाङमा ६ जनाको मृत्यु

जेठ १७ बझाङ ।यार्सा गुम्बा संकलनको लागि बझाङको उच्च हिमाली क्षेत्रमा गएका ६ जनाको  मृत्यु भएको छ भने अधिकांस बिरामी भएर खाली हात घर फर्किरहेका छन् । वैशाखको पहिलो सातातिर यार्सा संकलनको लागि हजारौंको संख्यामा जिल्लाको सुर्मासरोवर र साइपाल हिमालको क्षेत्रमा जिल्लावासी तथा जिल्ला बाहिरका मानिस त्यसतर्फ गएका थिए । 

यार्सा संकलनको क्रममा मृत्यु हुनेमा पाँच स्थानीय र एक जना नेपालगञ्जको रहेको त्यहाँबाट फर्केका रिलु गाविसका रामबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा रिलु गाविस ६ का १९ वर्षिय सुरेन्द्र जेठारा, व्यासी गाविस ३ थलाराका १६ वर्षिय सुवास धामीको मृत्यु भएको छ । त्यस्तै दौलिचौर ९ गजौनका ४५ वर्षिय नन्दगिरी बोहरा, दौलिचौरकै ५० वर्षिय धौल्या बोहरा र ३० वर्षिय पात्या बोहराको पनि मृत्यु भएको छ  भने अर्का एकजनाको नामथर खुल्न सकेको छैन । 

उनीहरु सबैको जेठ पहिलो सातातिरै मृत्यु भएको हो । जेठारा र धामीको हिउँमा चिप्लेर लड्दा मृत्यु भएको हो भने अरुको चिसो तथा टाईडफाईड भएर मृतयु भएको पनि बोहोराले जानकारी दिनुभयो । मृतक जेठारा दस कक्षामा अध्यनरत थिए भने धामीले यसपाली एसएलसी दिएका छन् ।

 प्रहरी चौकीबाट यार्सा संकलन गर्ने ठाँउ पुग्न दुई दिन लाग्ने भएकाले ढिलो जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae