Sahara Sansar

Thursday, May 19, 2011

यथास्थितिमै संविधानसभाको म्याद नथप्ने कोइरालाको अडान, पछाडि नहट्न गच्छदारको सुझाव

 जेठ ५ काठमाडौं। संविधानसभाको म्याद एकबर्ष थप गर्ने सरकारी प्रस्तावमा कांग्रेसलाई सहमत गराउने प्रधानमन्त्री झलनाथ खनालको आजको प्रयास पनि सफल हुन सकेन् ।

सरकारी प्रस्तावमा समर्थन खोज्दै कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्ज पुग्नुभएका प्रधानमन्त्री खनाल विना कुनै उपलब्धि फर्किनुभएको छ । भेटमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रियाप्रति सरकार प्रतिबद्ध रहेको भन्दै सरकारी प्रस्तावको समर्थन गर्न कोइरालालाई आग्रह गर्नुभएको थियो ।

शान्ति प्रक्रिया नै सरकारको मुख्य जिम्मेवारी भएकाले अनावश्यक शंका नगर्न प्रधानमन्त्री खनालले कोइरालालाई आग्रह गर्नुभएको छ । आफ्नो ठाउंबाट पन्छिनु भन्दा सबै दलहरु गम्भीर भएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीको आग्रह थियो ।

भेटपछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री खनालले मुलुक अन्त्यन्तै चुनौतीपूर्ण घडीमा रहेकाले दलहरु इमान्दारिताका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

भेटमा कांग्रेस सभापति कोइरालाले यथास्थितिमै संविधानसभाको म्याद थप्न नसकिने आफ्नो पार्टीका अडान दोहो¥याउनुभयो । शान्तिप्रक्रिया टुंग्याउने जिम्मा प्रधानमन्त्रीको भएको भन्दै कोइरालाले शान्तिप्रक्रिया ठोस निष्कर्षमा नपुगेसम्म संविधानसभाको म्याद थप्न नसकिने बताउनुभयो ।

शान्ति प्रक्रियालाई टुंग्याउन माओवादी अध्यक्ष प्रचण्ड पनि गम्भीर हुनुपर्ने कोइरालाले बताउनुभयो । म्याद थप्दै जाने तर संविधान नलेख्ने संविधानसभाको म्याद थप्नु कुनै औचित्य नहुने कांग्रेस सभापति कोइरालाको अडान छ ।

संविधानसभाको म्याद थप्ने सरकारी प्रस्तावमा प्रतिपक्षमा रहेका साना ठूला सबै दलको समर्थन जुटाउन प्रधानमन्त्री खनालले भेटवार्तालाई तीव्रता दिनुभएको हो ।

यसैबीच, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले यथास्थितिमै संविधानसभाको म्याद नथप्ने अडानबाट पछाडि नहट्न कांग्रेस सभापति सुशील कोइरालालाई सुझाव दिनुभएको छ ।

कांग्रेस सभापति कोइरालालाई भेटन् उहांको निवास महाराजगञ्ज पुग्नु भएका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले यथास्थितिमै संविधानसभाको म्याद नथप्ने कांग्रेसको अडानमा सहमति जनाउंदै पछाडि नहट्न सुझाव दिनुभएको हो । शान्ति प्रक्रिया नटुंगिएसम्म संविधानसभाको म्याद थप्न नसकिने कांग्रेसको अडान जायज भएको गच्छदारको बिचार छ ।

उहांहरुबीच सेना समायोजन सम्बन्धी कांग्रेसको १० बुंदे प्रस्तावका विषयमा पनि छलफल भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae