Sahara Sansar

Wednesday, April 20, 2011

नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिईने :भारतिय विदेशमन्त्री एसएम कृष्ण

वैशाख ७ काठमाडौ । भारतका विदेशमन्त्री एसएम कृष्णाले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

सरकारको निमन्त्रणामा नेपालको तीनदिने भ्रमणमा आज मध्याह्न काठमाण्डौमा आइपुग्नु भएका विदेशमन्त्री कृष्णाले विमानस्थलमा आगमन मन्तव्य दिँदै आफ्नो भ्रमणबाट द्विपक्षीय सम्बन्ध सुदृढीकरण एवम् विस्तारमा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो ।

ुभ्रमणले आपसी सहयोगका थप क्षेत्र पहिल्याउनेमा म विश्वस्त छु भारतीय विदेशमन्त्रीले भन्नुभयो ।

आर्थिक सहयोग सुदृढ पारेर नेपालको विकासमा योगदान गर्ने आफ्नो मुलुकको प्रयास रहेको उल्लेख गर्दै उहाँले वीरगन्जमा निर्माण हुने एकीकृत जाँचचौकी र तराई सडक परियोजनाबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक विकास सहज हुनेमा भारत आश्वस्त रहेको बताउनुभयो ।

भारतीय सहयोगमा वीरगन्जमा एकीकृत जाँचचौकी र तराई सडक परियोजना निर्माण हुने भएको छ । उहाँले ती परियोजनाको शिलान्यास गर्नु हुने कार्यक्रम छ ।

भ्रमणका क्रममा आफूले राष्ट्रपति डा रामवरण यादव प्रधानमन्त्री झलनाथ खनाल उपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायत प्रमुख राजनीतिक दलका नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी उहाँले दिनुभयो ।

विदेशमन्त्री कृष्णाले नेपालको नेतृत्व वर्गका व्यक्तिहरुसँगको भेटमा आपसी चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै भारत र नेपालबीचको बहुपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल गर्ने बताउनुभयो ।

नेपाललाई प्रजातान्त्रिक स्थिर शान्त र समृद्ध बनाउन भारत प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्नुका साथै उहाँहरुलाई भारतीय नेताहरुको शुभकामना सुनाउने उल्लेख गर्नुभयो ।

विदेशमन्त्री कृष्णा गत वर्ष पनि नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae