Sahara Sansar

Wednesday, April 27, 2011

जेठ १४ मा नयाँ संविधान जारी हुने संभावना क्षीण

 बैशाख १४ काठमाडौं। विभिन्न राजनीतिक दलका नेताहरुले जेठ  १४ मा नयाँ संविधान जारी हुने संभावना क्षीण भएको स्वीकारेका छन् । यद्यपि तत्काल राजनीतिक सहमति गर्ने हो भने संविधान जारी गर्नु असंभव नभएको पनि दोहोर्याएका छन् । आज रिपोर्टस् क्लव काठमाडौमा नेताहरुले थपिएको एक वर्षको अवधिमा संविधान नलेखिनुमा एक अर्को दलमाथि दोषारोपण गर्दै संविधानसभाको म्याद थप्ने विषयमा पनि अन्योलता प्रकट गरेका छन् ।

साक्षात्कारमा नेपाली कांङ्ग्रेसका नेता डा.नारायण खड्काले माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार नभएकाले नयाँ संविधान जारी गर्न नसकिने बताउनुभयो । कम्तीमा सेना समायोजन र शान्ति प्रक्रियाको बारेमा कार्यतालिका नभैकन संविधानसभाको म्याद थप्ने पक्षमा पनि नेपाली काङ्ग्रेस नरहेको खड्काको भनाई थियो ।

एकीकृत नेकपा माओवादीका नेता सीपी गजुरेलले नयाँ संविधान जारी गर्नका लागि महत्वपूर्ण विवादका विषयमा नेपाली काङ्ग्रेसले गम्भीरता नदेखाएको र एमालेलाई सत्तामा मात्रै चासो भएकाले माओवादी एक्लैको प्रयासले संभव नभएको बताउनुभयो । संविधानसभाको म्याद थप्नका लागि पनि संविधान लेख्ने प्रतिवद्धता हुनुपर्ने बताउँदै गजुरेलले आपसी समझदारी नबनाइकन जति म्याद थपे पनि कुनै अर्थ नहुने तर्क गर्नुभयो । पार्टीभित्रको कुरालाई लिएर मिडियामा आएको समाचारप्रति आक्रोशित हुँदै गजुरेलले पार्टीभित्र कुनै विवाद नभएको र दुई फरक फरक प्रतिवेदनलाई एकै बनाएर पारित गरिने दावी गर्नुभयो ।

एमाले नेता एवं प्र्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले संविधान लेखनमा भएको ढिलासुस्ती प्रमुख दलका नेताहरुकै कमजोरीले भएको बताउनुभयो । नयाँ संविधान जारी हुने दिन जेठ १४ आउन ठीक एक महिना रहेका बेला उहाँले नयाँ संविधान नागरिकको चाहना भएकाले नेताहरुले जनआन्दोलनको म्याण्डेटलाई विर्सन नमिल्ने बताउनुभयो ।

नेपाल सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले प्रमुख दलहरु संविधान लेख्नमा भन्दा सत्तामा केन्द्रित भएकाले संविधान लेखनमा ध्यानै नदिएको दावी गर्नुभयो । आफूहरु संविधानसभाको म्याद थप्ने पक्षमा नरहेको अडान लिंदै कर्णले मधेशलाई एकप्रदेश बनाउन दलहरुले आनाकानी गरेकाले आफूहरु आन्दोलनको मोर्चामा उभिएको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae