Sahara Sansar

Monday, April 25, 2011

तीन दलका नेताले सामूहिक रुपमा माफी मागे संविधानसभाको म्याद थप्न सकिने: थापा

बैशाख १२ बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलका शीर्ष नेताहरुले संयूक्त रुपमा शान्ति र संविधानको जिम्मेवारी पुरा गर्न नसकेको गल्ती स्वीकार्दै माफी मागे संविधानसभाको म्याद छ महिना थप्न सकिने बताउनुभएको छ । रिपोर्टर्स क्लब बुटवलमा थापाले अहिलेको अवस्थामा संविधान नबन्ने ठोकुवा गर्दै संविधानसभाको म्याद थप्न कुनै पनि हालतमा यथास्थितिमा नदिने स्पष्ट पार्नुभयो ।

 उहाँले अहिलेको अवस्थामा संविधानसभाको औचित्य सकिएकोले विघटन गरेर नयाँ निर्वाचनमा जानुपर्ने धारणा राख्नुभयो । थापाले अहिलेकै अवस्थामा संविधानसभाको म्याद थपिए नेपाली जनतामाथि घात हुने पनि बताउनुभयो । थापाले प्रजातन्त्र उग्रबामपन्थीहरुको धरापमा परेको दावी गर्दै राजा र माओवादी सहितको प्रजातन्त्रमात्रै नेपालमा दिगो हुन सक्ने दावी गर्नुभयो ।

नेपालको पछिल्लो अवस्थाको विषयले पूर्व राजा ज्ञानेन्द्रलाई चिन्तित बनाएको उल्लेख गर्दै उहाँले बदलिदो राजनीतिक परिस्थिति र राजा–माओवादी सहितको प्रजातन्त्रको विषयमा कुराकानी भईरहेको जानकारी दिनुभयो । यद्यपि पूर्व राजाले नेपाली जनताको चाहना अनुसार नै आफूले काम गर्ने प्रतिक्रिया दिएको बताउनुभयो । थापाले अहिले जनमत संग्रह भए मुलुकमा राजतन्त्र पुन आउने दावी गर्दै राजतन्त्र ल्याउने विषयमा ठूलो आन्दोनल नेपाली जनताले गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।

 पूर्व सहमति अनुसार नै माओवादीको लडाकुको समायोजन हुनुपर्ने भन्दै उहाँले नेपाली सेनाले ल्याएको सेना समायोजनको प्रस्ताव सकारात्मक रहेको बताउनुभयो । उहाँले शान्ति र संविधानको लागि दवाव दिन आफ्नो पार्टीले आगामि बैशाख १६ गते राजधानीमा आमसभा गरेर आन्दोलनको घोषणा गर्ने जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae