Sahara Sansar

Tuesday, April 26, 2011

राप्रपा र एमाओवादी कार्यकर्ताबीच झडप राप्रपाका एकदर्जन भन्दाबढी कार्यकर्ता घाइते

वैशाख १३ चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत माओवादी कार्यकर्ताबीच चितवनको माडीमा आज बिहान झडप हुँदा राप्रपाका एकदर्जन भन्दाबढी कार्यकर्ता घाइते भएका छन् ।

राप्रपा चितवन क्षेत्र नम्बर ५ वसन्तपुर माडीमा भइरहेको कार्यकर्ता भेटघाट एवम् शुभकामना आदान-प्रदान कार्यक्रममा एमाओवादीको युवा सङ्गठन वाइसिएलले आक्रमण गरेपछि झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

झडपमा परी राप्रपा चितवनका जिल्ला सदस्य मदन पौडेल बघौडा गाविसका इकाई अध्यक्ष राजु पौडेललगायत १४ जना घाइते भएका छन् ।

उनीहरुको अहिले भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वाइसिएल चितवनका कोषाध्यक्ष हरि भुसालसहितका वाइसिएल कार्यकर्ताहरुले आफूहरुमाथि आक्रमण गरेको घाइतेहरुको भनाइ छ ।

कार्यक्रम भइरहेको स्थानमा एक्कासि विवाद गर्न पुगेका वाइसिएल कार्यकर्ता र राप्रपा कार्यकताबीच भनाभनसँगै झडप भएको इलाका प्रहरी कार्यलय वसन्तपुरले जनाएको छ ।

कार्यक्रम स्थलमा समेत वाइसिएल कार्यकर्ताले तोडफेड गरेको पुष्टी प्रहरीले गरेको छ ।

यसैबीच राप्रपा चितवनले विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ ।

उता वाइसिएल चितवनले भने आफूहरुमाथि राप्रपा कार्यकर्ताले आक्रमण गरेपछि झडप हुन गएको बताएको छ । सामान्य विवादमै राप्रपा कार्यकर्ता आक्रमणमा उत्रिएको उसको भनाइ छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae