Sahara Sansar

Friday, April 22, 2011

होहल्ला र नाराबाजीबीच व्यवस्थापिका संसदको नवौं अधिवेशन अन्त्य

वैशाख ९ काठमाडौ ।व्यवस्थापिका-संसदको नवौं अधिवेशन होहल्ला र नाराबाजीका बीच आज अन्त्य भएको छ । संसदको आजको दोस्रो बैठकमा सभामुख सुवास नेम्वाङले चार सभासद्ले होहल्ला र नाराबाजी गरिरहेकै अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले नवौं अधिवेशन आज राति ९ बजेबाट अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

यसअघि व्यवस्थापिका-संसदको आजको दोस्रो बैठकको प्रारम्भमै विश्वेन्द्र पासवान रुक्मिणी चौधरी सदरुल मिया हक र बुद्धरत्न मानन्धरद्वारा बैठक अवरुद्ध पार्ने प्रयाश भएको थियो ।

उहाँहरुले करिब ४० मिनेटसम्म नयाँ संविधानमा जनजाति आदिवासी दलित अल्पसङ्ख्यक र पिछडिएका समुदायको हकअधिकार सुनिश्चित गर्नुपर्ने भन्दै नाराबाजी गर्नुभएको थियो ।
सभामुख सुवास नेम्वाङले उहाँहरुलाई बैठक सुचारु गर्ने वातावरण सिर्जना गर्न पटक पटक आग्रह गर्नुभएपनि उहाँहरुले लगातार नाराबाजी र होहल्ला कायमै राख्नुभएको थियो ।

दश मिनेटका लागि भनी स्थगित भएको बैठक दुई घण्टापछि साँझ ६ बजे मात्र सुरु भएको थियो ।

आजको बैठकमा नेपाली काँग्रेसका सभासद् डा रामशरण महतले अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची तय भएको थियो ।

संसदको अधिवेशन चालु रहेको अवस्थामा अर्थतन्त्रको सुधारका लागि राष्ट्रिय बहसका आधारमा सहमति जुटाइ आर्थिक एजेण्डा तय गरियोस् भनी गत चैत १३ गते संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव समेतलाई उपेक्षा गरी एकलौटी ढङ्गबाट अर्थमन्त्रीले साचारकर्मीबीच श्वेतपत्र भनी जारी गर्नुभएको दस्तावेजले संसदको अपमान गर्नाका साथै संसदीय मूल्य परम्परा र मान्यताको ठाडो उल्लङ्घन गरेको डा महतको स्थगन प्रस्तावमा उल्लेख छ ।

आजको बैठकमा सभामुख सुवास नेम्वाङले नेपालको अन्तरिम संविधान र संविधानसभा नियमावलीअनुसार संविधानसभा सदस्यहरु पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्राप्त पत्रबारे जानकारी गराउने कार्यक्रम थियो । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा सभासद्द्वय गायत्री साह र विश्वनाथप्रसाद यादवलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।

उपप्रधान एवम् कानुन तथा न्यायमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका-संसदको आजैको बैठकमा अपराध संहिता र फौजदारी कार्यविधि संहिता २०६७ प्रस्तुत गर्ने कार्यक्रम थियो ।

बैठकमा फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक २०६७ र केही नेपाल कानुनलाई संशोधन एकीकरण समायोजन र खारेज गर्ने विधेयक २०६७ समेत प्रस्तुत गर्ने कार्य पनि कार्यसूचीबाट हटाइएको जानकारी सभामुख नेम्वाङले गराउनुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae