Sahara Sansar

Thursday, April 28, 2011

पत्रकार महासङ्घ द्वैध चरित्रबाट मुक्त हुनुपर्ने पत्रकारहरुको भनाइ

बैशाख १५ काठमाडौं। पत्रकारहरुले नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि खुलेर काम गर्न नसकेको गुनासो गरेका छन् । श्रमजीवी पत्रकार सङ्घर्ष समितिले बिहीवार काठमाडौमा गरेको अन्तक्र्रियामा महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका र वरिष्ठ पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।

सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएका शिव गाउँलेले अहिलेसम्म कुरा धेरै भएपनि श्रमजीवी पत्रकारको पक्षमा महासङ्घले काम गर्न नसकेको दावी गर्दै अब स्पष्ट रुपमा महासङ्घलाई श्रमजीवीको प्रतिनिधिको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।उहाँले वाचा गर्नुभन्दा पनि कार्यान्वयन महत्वपूर्ण हुने भन्दै पत्रकारको भौतिक र व्यावसायिक सुरक्षा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि अभियान चलाउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो । सभापति पदका अर्का उम्मेवार केदार कोइरालाले आफू कुनै दल विशेषको पत्रकार नभएको भन्दै आफूले पत्रकारिताको व्यवसायिकताका लागि लड्ने दावी गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गगन विष्टले अहिलेसम्मको महासङ्घका पदाधिकारीले बोलीमा श्रमजीवी भने पनि मालिक जस्तो व्यवहार भएको आरोप लगाउँदै महासङ्घ द्वैध चरित्रबाट मुक्त हुनुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकारको हकहितको लागि खुलेका कुनै पनि संगठनहरुले श्रमजीवी पत्रकारहरुको हितमा सोचे जति काम गर्न नसकेको दावी गर्दै पत्रकारको अधिकार, सुरक्षाका लागि सबै एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

 नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्माले पत्रकारहरुको संगठन पार्टीहरुको खल्तिमा पुगेको भन्दै यस्तो संगठनले श्रमजीवी पत्रकारहरुको हीत गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae