Sahara Sansar

Thursday, April 7, 2011

गास, वास र कपासको ग्यारेन्टी भएन भने विद्रोहको विकल्प छैन

कूल तामाङ्
 चैत २४ नुवाकोट। तामसालिङ राज्य समितिका सहइन्चार्ज जीतविर लामाले नेपाली जनताको गास, वास र कपासको ग्यारेन्टी भएन भने विद्रोहको अर्को विकल्प नभएको बताउनुभएको छ । २२ औं राष्ट्रिय जनआन्दोलन दिवसका अवसरमा आज मदानपुर गाविसको जुरेथुम ३५ किलोमा आयोजित जनसभालाई सम्वोधन गर्दै सहइन्चार्ज लामाले संविधान निर्माण र सेना समायोजनमा विभिन्न पक्षबाट अवरोध भइरहेको बताउँदै जारी संक्रमणकालको अन्त्य नभएसम्म जनताको सपना पूरा नहुने दावी गर्नुभयो ।

उहाँले सेना समायोजन नभएमा शिविरमा रहेका माओवादी सेना बाहिर निस्कने बताउनुभयो । जनताको शान्ति सुरक्षा र मौलिक अधिकारको प्रत्याभूति हुन नदिन र संविधान बन्न नदिने षड्यन्त्रमा भारतीय विस्तारवाद लागि परेको आरोप उहाँको थियो । कार्यक्रममा बोल्दै तामसालिङ राज्य समितिका सेक्रेटरी हितबहादुर तामाङले भारत र अमेरिकासमेत नेपालमा संविधान बन्न नदिने खेलमा लागेको आरोप लगाउनुभयो । उहाँले सबै दलहरु एकजुट भएमा वाँकी समयमा भए पनि संविधान बन्नसक्ने बताउनुभयो ।

जनसभामा तामसालिङ राज्य समिति सचिवालय सदस्य माइला लामा, एकीकृत नेकपा माओवादी नुवाकोटकी इन्चार्ज लक्ष्मी मुडवरी, सहइन्चार्ज सुवास तामाङ, सभासद विमला सुवेदी, सभासद सन्तुमाया तामाङलगायतले मन्तव्य राख्नुभएको थियो ।

माओवादी जिल्ला सेक्रेटरी पुष्प लामिछाने अरुण्को सभापतित्वमा सम्पन्न सभामा दाङसिङका विष्णु अधिकारी र चारघरे गाविसकी रुपा अर्यालवीच जनवादी विवाहसमेत सम्पन्न भएको छ ।

यस अघि जुरेथुममा जुरेथुम महिला समूहले निर्माण गर्न लागेको सामुदायिक भवनको शिल्यान्यास गरिएको छ । सामुदायिक भवन सभासद विमला सुवेदीको संसद विकास कोषको ५० हजार र स्थानीय जनसमुदायबाट गरी दश लाख रुपैयाको लगानीमा निर्माण हुने बताइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae