चैत २७ काठमाडौँ । सरकारले भविष्यमा हुन सक्ने जोखिमबाट बच्न तथा सरकारी सेवा सुविधा प्राप्त गर्न श्रम अनुमति लिएरमात्रै रोजगारीका लागि जान आग्रह गरेको छ ।
खाडी मुलुकमा कामका लागि जाने नेपाली समस्यामा पर्ने गरेको र श्रम अनुमति लिएर नजाँदा कुनै दुर्घटना या आपतमा परे उद्धार गर्न नसकिने भन्दै यस्तो आग्रह गरेको हो ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार करिब दुई लाख नेपाली श्रम अनुमति पत्र नलिएर वैदेशिक रोजगारीमा गएका छन् । जसले गर्दा उनीहरुको कुनै जानकारी सरकारसँग छैन । यसरी जानेमा महिलाहरु पनि रहेका छन् ।
मन्त्रालयका सहसचिव पूर्णचन्द्र ढुङ्गेलका अनुसार सरकारबाट २७ हजार महिलाले मात्रै श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । उनीहरुको जानकारी मात्रै सरकारले राखेको छ ।
रोजगारीका लागि विदेशिनेहरु बेचविखनमा पर्ने गरेको बताउँदै उहाँले यसरी जाँदा आफू कसरी सुरक्षित भइन्छ भनेर प्रत्येक व्यक्तिले जानकारी लिन आवश्यक रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा गएकाहरु सुरक्षित तरिकाले काम गर्न सकुन् भन्ने उद्देश्यले सरकारले खाडी मुलुकमा एकद्धार प्रणाली लागु गर्न सुरु गरेको छ ।
कामदार पठाउनुअघि सरकारले सम्बन्धित मुलुकमा स्वीकृति लिनका लागि सो प्रणाली लागु गरिएको बताउँदै सहसचिव ढुङ्गेलले कुबेतमा भने गत फागुनदेखि सो प्रणाली लागु भइसकेको जानकारी गराउनुभयो ।
0 comments:
Post a Comment