बैशाख २० काठमाडौं। नेपाल पत्रकार महासङ्घको २३ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । “शान्ति, सहमति र संविधान ः नेपाल पत्रकार महासङ्घको अभियान” भन्ने नारासहित सुरुभएको महाधिवेशन भोलिसम्म चल्ने छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासङ्घका पूर्व सभापति हरिहर विरही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणा, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालगायतका वक्ताहरुले प्रेस स्वतन्त्रताको रक्षाका साथै मुलुकमा नयाँ संविधान निर्माणको अहिले जारी प्रक्रियालाई फलदायी हुने हिसाबले सबै सन्चारकर्मीले सघाउनु पर्ने धारणा राख्नुभयो । उद्घाटन समारोह अहिले पनि चलिरहेको छ । उद्घाटन समारोह सकिए लगत्तै आजै बन्द सत्र सुरु हुने कार्यक्रम छ ।
पत्रकार महासङ्घको महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन गर्ने छ । महासङ्घको नेतृत्वको लागि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार सङ्घले संयुक्त रुपमा प्यानल खडा गरेर शिव गाउँलेको नेतृत्वमा उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी प्रेस युनियनको तर्फबाट पोषण केसीको नेतृत्वमा प्यानल खडा भएको छ । यसैगरी अध्यक्ष पदका लागि केदार कोइराला, डम्बर गिरी र चन्द्रदेव कामति पनि चुनावी मैदानमा रहनुभएको छ । महाविधेशनको बिहान ९ बजे प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुने कार्यक्रम छ । नयाँ केन्द्रीय पदाधिकारी चयनका लागि भोलि चुनाव कार्यक्रम रहेको छ ।
यसैबीच आज मे ३ तारिख, विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी संसारभर मनाइँदै छ । नेपालमा यो दिवस “२१ औं शताब्दीको सन्चार माध्यम, नयाँ सीमा र अवरोध” भन्ने नारासहित मनाइँदै छ । विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा नेपाल पत्रकार महासङ्घले काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरि निकालेको छ । प्रभातफेरि प्रज्ञा प्रतिष्ठानमा पुगेर टुङ्गिएको थियो ।
0 comments:
Post a Comment