मीना थापा मगर
बैशाख १९ पोखरा। नेपाल मगर संघ कास्कीले वैशाख १ गतेदेखि निरन्तर रुपमा आफ्ना मातहतमा रहेका इकाइका मगर समुदायहरुमा पुगी राष्ट्रिय गनगणनामा आफ्नो नामको पछाडि मगर शब्द लेख्न र मातृभाषा, धर्मको बारेमा यथार्थ जानकारी दिन आग्रह सहित सचेतनामूलक कार्यक्रम अभियान शुरु गरेको छ । नेपाल मगर संघ कास्कीको पहलमा र विभिन्न इकाई समितिको आयोजनामा यस खालको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
हालसम्म माझवेसी, दिपबगर, नयाँबजार, बैदाम, छोरेपाटन, रामबजार, माटेपानी, बुढीबजार, लामास्वाँरा, तालचोक, भण्डारढिक, अघौं, ढुंगेपाटन इकाई समितिमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । यसबाहेक बाँकी इकाइ कमिटी र मगर समुदायमा पुगी यस खालको अभियान सञ्चालन गरिने कास्की जिल्ला
अध्यक्ष पूर्ण बहादुर राना मगरले जानकारी दिनुभयो ।
खासगरी हालसम्मको राष्ट्रिय जनगणनामा नेपालका आदिवासी जनजातिहरुको वास्तविकता तथ्याङ्क नआएकाले आफूहरुको सत्यतथ्य पहिचान र चिनारी सहितको गणना होस् भन्ने उद्देश्यले यस खालको चेतनामूलक अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।
भरखरै सम्पन्न भरतपोखरी गाविसको बागमारा, गगनगौंडा स्थित कालिका नगर इकाई कमिटी गरी हालसम्म कास्की जिल्लमा ३० वटा मगर इकाइ समिति गठन भइसकेको छ भने कास्की जिल्लाका अन्य ठाउँमा पनि कमिटी गठन गर्ने अभियान जारी रहेको अध्यक्ष राना मगरले जानकारी दिनुभयो ।
यसैगरी नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चाल समितिको सम्पन्न बैठकले ग्रामिण भेगका केही जातिका समुदायले खस भाषा पनि राम्रोसँग बोल्न नसक्ने हुनाले उनीहरुबाट सत्यतथ्य गणना आउन नसक्ने हुनाले सम्बन्धित समुदायमा सम्बन्धित जाति विशेषका गणकको सहभागिता गराउनको लागि पहल गर्ने निर्णय गरेको छ ।
0 comments:
Post a Comment