Sahara Sansar

Wednesday, April 6, 2011

नुवाकोटमा अन्तरजातीय विवाह गर्ने जोडीको संख्या बढ्दो


कूल तामाङ्
 नुवाकोट।सरकारले अन्तरजातीय विवाह गरेवापत प्रोत्साहन पुरस्कार दिने घोषणा गरेपछि नुवाकोटमा अन्तरजातीय विवाह दर्ता गर्ने जोडीको संख्या बढेको छ । अन्तरजातीय विवाहको तुलनामा जिल्ला प्रशासन कार्यालयमा गरिने विवाह दर्ता भने न्युन रहेको छ ।

कार्यालयमा हालसम्म अन्तरजातीय दश जोडीले विवाह दर्ता गरेका छन् । २०६६ असारमा नुवाकोटमा पहिलो पटक ‘कोटम्यारिज’ दर्ता भएपनि अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारले पुरस्कारको व्यवस्था गरेपछि यस्तो विवाह दर्ता बढेको हो ।

अन्तरजातीय विवाह गरेर सम्वन्ध दर्ता गराउनेहरुको संख्या भने दश रहेको कार्यालयका नायव सुव्वा खगेन्द्र घिमिरेले जानकारी दिनुभयो । जिल्लामा सम्वन्ध दर्ता गराउने जोडीको संख्या भने १२ जोडी रहेको छ । 

 उहाँका अनुसार विवाह दर्ता भएका दश मध्ये सात जोडी सरकारले दिने अन्तरजातीय विवाह सुविधा उपलब्ध गराइ सकिएको छ । नुवाकोटमा पहिलो पटक जापानी केटी नामा सेवाता र चतुराले गाविसका मानबहादुर तामाङवीच जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पहिलो विवाह दर्ता भएको थियो ।

अन्तरजातीय विवाह गरेर प्रशासन कार्यालयमा दर्ता गराउनेहरुमा सभासदका परिवारदेखि सर्वसाधारणसम्म रहेका छन् । सभासद गोविन्द नेपालीका छोरा नवराज नेपाली र तेह्रथुमकी मिरादेवी ओली, बुधसिङका विष्णुमान श्रेष्ठ र दाङसिङकी रीता सुनवार, तारुकाका विनोद दमाइ नेपाली र सुनौलाबजार धादिङकी फूलमाया लामिछानेमगर रहेका छन् ।

यसैगरी अन्तरजातीय विवाह गराउने अन्यमा विदुर नगरपालिका वडा नंं ७ का सन्तोष सुनुवार र विदुरकै सन्ध्या श्रेष्ठ, अम्वरबहादुर मिजार र कविलासकी गायत्री पाण्डे, विदुरका सुजन मगराती र मकवानपुरकी लक्ष्मी होम्जन, दुइपीपलका विनोद तामाङ र रातमाटेका सुभद्रा नेपालवीच भएको विवाह जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको छ ।

चालु आर्थिक वर्षमा तीन वटा अन्तरजातीय विवाह प्रशासनमा दर्ता भएको छ । थानसिङका सुरेन्द्र नगर्जी र लहरेपौवा रसुवाकी कल्पना आचार्य, तुप्चेका अमृत सुनार र दोलखाकी अनिता थापामगर एवं दुइपीपलका राजु परियार र नवलपरासीकी पुष्पादेवी पौडेलवीच अन्तरजातीय विवाह दर्ता भएको छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका तीन जोडीको सरकारले दिने प्रोत्साहन पुरस्कारको लागि सिफारिस पठाइसकिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । भने अघिल्लो आर्थिक वर्षमा विवाह भएका सात अन्तरजातीय जोडीलाई पुरस्कार वापत एक÷एक लाख उपलब्ध गराइसकिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae