Sahara Sansar

Wednesday, March 9, 2011

नारीहरूलार्इ केहि पुरूष प्रश्नहरू???



नीराजन शिरीष ।
मंगलबार दिनभरजसो देशका सडकहरूमा नारी आवाज एकसाथ घन्केका थिए होला । गगनभेदी नाराहरूसडकभर नारीहरू र हातमा थुप्रै प्लेकार्डहरू यस्तै हुनुपर्छ आज दिनभरको बस्तुस्थिती । कतिपय नारी उत्थानका लागि भनि खोलिएका संघसंस्थाहरूले त विशेष रकम खर्च गरेर विशेष खालकै कार्यक्रमहरू पनि गरे होलान । नगरून पनि किन आखिर वर्षमा एकपटक आउने विशेष दिन जो पर्यो । रसायद यतिखेर त नेपालका सडकहरू शुन्य पनि भैसके होलान् । 


सडकमा पुगेर नारी अधिकारका बारेमा चर्का चर्का नारा लगाएर घर फर्केका आमादिदीबैनीभाउजुफुपु र श्रीमतीहरू थकित थकित र चकित चकित भएर निदार्इसके पनि होलान । तथापि मेरो मनोकामना ननिदाओस् उनीहरूको नारी उन्मुक्तिको अभिलाषानथाकोस् पुरूष बराबर महिलाहरू पनि हुन भन्ने उनीहरूको चेतना भन्ने नै हो । 

एउटी नारी आमा पनि हुन् र जीवन संगिनी पनि । यस अर्थमा मैले लेख्नुपर्छ नारी दिवसको पावन घडिमा मेरी आमा सडक सम्म पुगिन होला र मेरी श्रीमतीले पनि सायद नारी अधिकारनारीको स्वाभिमानप्रतिको सम्मान र पुरूष बराबरको हकहित र सामाजिक सम्मानको ग्यारेन्टीका प्लेकार्डहरू बोकिन होला । दिनभर कार्यक्रममा ब्यस्त भएको हुनुपर्छ  मेरा आमा र श्रीमती ।


यसो गरिरहँदा उनीहरूको चेतनाले बर्षौदेखि समाजमा ब्याप्त नारीका बिरूद्द नारीबाटै हुने विविध अवरोधझालझेल र कुसंस्कृत धारणाहरूमा परिवर्तनका लागि हामीबाटै पहलकदमी लिनुपर्छ भन्ने दिव्य चेतना आयो होला या छैन । मलार्इ आश्चर्य लागिरहेछ ! 

जति नै धेरै नारी उन्मुक्तिका नाराहरू लगाए पनिपुरूष बराबरको हकहितका लागि सडकसम्म ओर्ले पनि जबसम्मएउटी आमाले आफ्नो छोरा भन्दा छोरीको उपस्थितीलार्इ बढ्ता महत्व दिन्नेजहिले सम्म एउटी सासुले आफ्नी बुहारीप्रति छोरीको र बुहारीले सासुलार्इ आफ्नी आमा बराबरको माया,सम्मान र सदभाव राख्न सक्दिने तबसम्म नारी उन्मुक्तिका लागि गरिने पहलहरू सार्थक हुन सक्दैन ।


तसर्थः यस घडिमा हामीले एउटी नारी पछि पर्नुको  खास र महत्वपूर्ण कारण अर्की नारी भएको सन्दर्भलार्इ बिर्सनु हुँदैन । सत्य कुरा लेख्दा धेरैलार्इ नमीठो लाग्न सक्छ । तर जति नै नमीठो भए पनि सत्यलार्इ स्वीकार गर्नु सबैको कर्तब्य हुन आउँछ ।

नारी उन्मुक्तिको विषय उठाउँदा बित्तिकै सबभन्दा पहिले एउटी नारीका विषयमा अर्की नारीले सोच्ने बिषयलार्इ प्राथमिकताकासाथ हेर्नु पर्ने हुन्छ । एक नारीले अर्को नारीका विषयमा सोच्ने सोचार्इमा परिवर्तन ल्याउन सकियो भने मात्र मान्न सकिन्छ कि अब साँच्चिकै नारी उन्मुक्तिको अभियानले ठिक गति पक्डिन सकेको छ । 


हामीले एकपटक हाम्रो सोच कस्तो छ भनेर पुनरावलोकन गर्नु अपरिहार्य छ । जस्तो कि सडकमा एउटी युवती स्कर्ट लगाएर हिडेको देखियो भने सबभन्दा पहिला अधबैशें नारीहरू नै जिब्रो टोक्न पुग्छन् । र, टिप्पणी गरिहाल्छन् – 'छिः कस्ती बेशुली रैछे मोरी ! कसकी छोरी होली ? मेरी छोरी यस्तरी हिड्थी भने त त्यसका जगल्टा गोड्दिन्थेँ !' अब यस्ता सोचबाट गुज्रिएका बग्रेल्ती महिलाहरूको बिचबाट नारी उन्मुक्तिका कुराहरू उठ्दा खेरी ती हाँस्यास्पद लाग्दैन त ? 


हाम्रो यस्तो समाज छ, जहाँ एउटी नारीले आफूलार्इ सजिलो लाग्ने पहिरन लगाउनका लागि मात्र सयौपल्ट सोच्नु पर्छ । टिप्पणी सुन्नुपर्छ । छोराले रफ पंक पोशाक लगाएको प्रति कसैले प्रश्न उठाउँदा जबाफ दिन्छन् आमाहरू – खै, भनेको हो मान्देन् ! तैपनि के भयो र ? छोरो हो लाउँछ त के भयो ? छोरीले पो लोकलाज ख्याल गर्नु पर्यो ! अनि मलार्इ प्रश्न गर्न मन लाग्छ, किन एउटी आमाले आफ्नी छोरीलार्इ सहज हुने पहिरन लगाउने वातावरण निर्माण गर्ने साहस गर्न सक्दिनन् ? जवाफ स्वभाविक हुन सक्छ - सामाजिक मूल्य मान्यताको ख्याल गर्नु पर्ने हुन्छ, र एउटी आमाले आफ्नी छोरीलार्इ सामाजिक मूल्य मान्यताका बारेमा शिक्षित बनाउनु उसको कर्तब्य हुन्छ ।


उसोभए सामाजिक मूल्य मान्यताका नाममा नारीहरूलार्इ लगाइएका कठोर अनुशासनका साङ्लोबाट आफ्नी छोरीको मुक्तिको लागि आमाले कुनै भूमिका नखेल्ने त ? सोच्ने बेला आएको छ ।


घरका नियमित कामहरूमा परम्पराका नाममा किन छोरीहरूलार्इ मात्र जिम्मेवार बनाउन चाहन्छन् आमाहरू ? छिमेकीले आफ्नी छोरीले खाना पकाउन नजानेको कुरा बताउँदा, ओठ लेप्राउँदै 'छोरी भएर पनि खाना पकाउन नआउने ! किन नसिकाएको नी ?' भनि टिप्पणी नगर्ने वातावरण कहिले बन्ला ? आफ्ना छोरीलार्इ आत्मनिर्भर हुनका लागि कहिलेदेखि प्रेरित गर्लान हाम्रा आमाहरू ? आफ्नो पहिलो सन्तान जे भए पनि राम्रै होस्, स्वस्थ होस् भन्ने सोच कहिले आउँला हाम्रा गर्भवतीहरूमा ? कहिले अन्त्य होला छोरा जन्माउने अपेक्षामा गणेशपुराण लगाउने हाम्रो परम्परा ? बुहारी पनि छोरी नै हुन भन्ने सोच कहिलेदेखि संस्थागत होला हाम्रो समाजमा ?

तसर्थः हामीहरूले जहिलेदेखि हाम्रा गलत अभ्यासहरू हटाउनका लागि आफूले नै कम्मर कस्न थाल्छौं, त्यो दिनदेखि बल्ल हामी निश्चिन्त रहन सक्छौं, कि आउने दिनहरूमा हाम्रा छोरीहरूले पनि छोराहरूले जस्तै आफ्नो भविष्य निर्माणको मुक्त आकाशमा पखेटा फट्फटाउने छन ।


हामीले बिर्सन नहुने कुरा के हो भने, बोलार्इ र गरार्इमा जहिलेसम्म हामीले सामञ्जस्यता कायम गर्न सक्दैनौं त्यहिले सम्म हाम्रा सबै योजनाहरू मीठा र आकर्षक सपनाहरू बाहेक केहि होइनन् ! जय नारी दिवस !

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae