Sahara Sansar

Friday, March 11, 2011

८.९ रेक्टर स्केलको महाभूकम्पपछि जापानमा सुनामीको विध्वंशता


एजेन्सी फागुन २७  टोक्यो  ।
शुक्रबार बिहान ८ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण आएको  सुनामी (विनाशक समुद्री छाल)ले उत्तरी जापानको सेन्दाइ सहरका  सिङ्गै नगरहरु बगाएको छ। जापानका अरु प्रान्तहरुमा पनि भूकम्पका कारण  क्षति भएको तर विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। सुनामी  छाल आउन सक्ने भन्दै  रुस, ताइवान, इन्डोनेसिया, लगायत न्युजिल्यान्ड,  हवाई, दक्षिणी तथा मध्य अमेरिकी देश चिली, होन्डुरस, एल साल्भाडोर, निकारागुआ, पनामा, पेरु, कोलम्बिया देशमासमेत चेतावनी दिइएको छ।          

सामान्यतया ६ रेक्टरस्केलको भूकम्पलाई विनाशक मानिन्छ।  जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका दृश्यहरुमा अग्ला घरहरु र तेल प्रशोधन केन्द्रमा आगो लाग्दै गरेको,  मानिसहरु भाग्दै गरेको र ज्वालामुखीबाट निस्कने लाभा जस्तो समुद्री छालले नगर पूरै बगाएर विध्वंस गरिरहेको दृश्य देखिएको छ। 

अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी टोक्योबाट ३ सय ७३ किलोमिटर टाढा थियो तर त्यहाँ पनि भूकम्पको धक्का महसूस गरिएको थियो। भूकम्पका कारण टोक्यो र वरपरका ४० लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ।

भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी आएको छ।  प्रशान्त महासागर छोएका ताइवान, फिलिपिन्स लगायत विभिन्न देशका समुद्री किनारमा सुनामी पुगेको छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae